बर्दिया । कात्तिक ११ गते पाटेबाघको आक्रमणबाट नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा (साला–भिनाजु) दुई जनाको ज्यान गयो । नेपाल–भारत सीमा नजिक मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरानजिक बेलझुण्डी सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको थियो ।
बिहानै सामुदायिक वनमा च्याउ खोज्न गएका मधुवन नगरपालिका ३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी दिउँसोसम्म नआएपछि आफन्तहरु खोजी गर्न जाने क्रममा २६ वर्षीय रमेश थारूलाई बाघले आक्रमण गरी ज्यान लियो । त्यसको एक साताअघि बाघकै आक्रमणमा सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन ३ की एक महिलाको ज्यान गयो ।
यस्तै झण्डै डेढ महिनाअघि माछा मार्न गएका मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणबाट ज्यान गयो । कात्तिक १५ गते बाघकै आक्रमणमा फेरि एक जनाको ज्यान गयो । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा पाटे बाघको आक्रमणबाट गेरुवा गाउँपालिका ४ राजिपुरका ६८ वर्षीय लहानु थारुको ज्यान गयो ।
घरनजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटे बाघले लहानु थारूलाई आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको थियो । यस्तै, केही दिनअघि मात्रै पाटे बाघकै आक्रमणबाट १ महिला घाइते भएकी छन् । पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व पनि बढ्दो छ । संरक्षण अभियानमा स्थानीयहरू सकारात्मक हुँदाहुँदै पनि जंगली जनावरको आतंकका कारण वर्षभरिको खाने अन्नपात एकै दिनमा सखाप पारीदिन थालेपछि प्रतिशोधको भावनाले गर्दा मानव–वन्यजन्तुबीचको द्वन्द्व अहिले बढिरहेको बर्दिया निकुञ्जको भनाइ छ ।
मान्छे मार्ने बाघ नियन्त्रणमा
लगातार बाघ आक्रमणबाट घटना बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जले एउटा पाटेबाघ नियन्त्रणमा समेत लिएको छ । मान्छे मार्ने बाघ तत्काल नियन्त्रणमा लिनुपर्ने वा मार्नुपर्ने स्थानीयले दबाब गरेपछि बर्दिया निकुञ्जको टोलीले गेरुवा क्षेत्रबाघ केही दिन पहिले त्यो बाघलाई नियन्त्रणमा लिएको थियो ।
उक्त बाघ अहिले निकुञ्ज मुख्यालय ठाकुरद्वारमा खोर बनाएर राखिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए । यस्तै, बर्दियाको मधुवन क्षेत्रमा पनि मान्छे मार्ने बाघ नियन्त्रणमा लिने तयारी भइरहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
बाघ आक्रमणका घटना बढेसँगै स्थानीयलाई बिहान ९–१० बजेसम्म र साँझ ४–५ बजेपछि जंगलमा प्रवेश नगर्न आग्रह गरिएको डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले बताए । यो समयमा बाघ आहाराका लागि सक्रिय हुने भएकाले जंगल प्रवेश नगर्न उनले स्थानीयबासीमा आग्रह गरेका छन् । यस्तै, जंगली जनावरले बालीनाली नोक्सान गरेपछि बर्दियाका किसानहरू चिन्तित बन्न थालेका छन् ।
जंगली जनावर बँदेल, नीलगाईले हिउँदे बाली, तोरीसँगै तरकारी खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका हुन् । जंगली जनावरले आफ्नो बाली क्षति गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्तीका अधिकांश किसानको दुखेसोे छ । राति जंगली जनावर करेसाबारीमा आउने र बालीनाली क्षति गर्ने गरेको ठाकुरबाबा नगरपालिकाको बकुवाकी स्थानीय विनिता पौडेलले बताइन् ।
जंगल क्षेत्रमा धेरै घटना
बाघ हेर्न भनेपछि सबैको मुखमा अहिले बर्दिया झण्डिएको हुन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाटेबाघको संख्या बढ्दै गएका कारण धेरै मानिसहरू बाघ हेर्नकै लागि भए पनि बर्दिया आउने गरेका छन् । तर, त्यही बाघ अहिले आक्रामक बन्दा बर्दियाबासीले सास्ती खेप्नु परेको छ ।
वन र वन्यजन्तु संरक्षणका लागि जुट्दै आएका मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दामा अहिले बाघ गाउँमै पसेर स्थानीयको ज्यान लिने गरेपछि त्रासमा भएको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा श्याम थारूले बताए । बाघले स्थानीय घाँस दाउरा लिन जंगल गएका बेला अथवा जंगल आसपासका गाउँमै पसेर भए पनि मानिसको ज्यान लिने गरेको छ ।
स्थानीय बासिन्दा जंगल प्रवेश गरेका बेला बाघसँग जम्काभेट हुने भएकाले बाघको आक्रमणका घटना बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा.रविन कडरियाको भनाई छ । धेरैजसो घटना जंगल एरियामै हुने गरेको उनको भनाई छ । बाघ आक्रमणका घटनाहरु बढिजसो जंगल यरिया तथा मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन आसपासमा हुने गरेका छन् ।
बर्दियाको मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट स्थानीय बढि पिडित हुने गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांक अनुसार ८७ पाटेबाघ रहेका छन् । यस क्षेत्रका स्थानीयले बाघ आक्रामक बन्दै भनिरहेका बेला संरक्षणकर्मीले भने बाघ आक्रामक बनेको नभई जम्का भेटका कारण यस्ता घटना घट्ने गरेको बताएका छन् ।
बाघ आहाराको खोजीमा रहेका तथा बच्चासँगै रहेको र भाले बाघहरू जुधेको बेला मानिस उसको अगाडि परेमा बाघले आक्रमण गर्न सक्छ । यस्तै, बाघ बुढो हुँदै गयो भने भित्री जंगलहरुमा अन्य बाघसँग जुध्न नसक्ने भएका कारण जंगल किनारमा आएर बस्ने र आहाराका लागि जे अगाडि पर्यो त्यही खाने गर्छ ।
मध्यवर्ती क्षेत्रका बासिन्दा घाँस दाउरा लिन तथा अन्य कामका लागि निकुञ्ज तथा राष्ट्रिय वनमा प्रवेश गर्ने गरेकै कारण स्थानीयले अकालमै ज्यान गुमाउने गरेका कतिपय संरक्षणकर्मीको बुझाई छ । वन्यजन्तुको बासस्थान विनास नगर्ने र उनीहरूलाई बाधा नपु¥याउने हो भने मात्रै पनि यस्ता घटनामा कमी आउने संरक्षणकर्मीहरूले बताएका छन् ।
सत्यपाटी ।