सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति

लण्डन । बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने पहिलो मुलुक भएको छ । तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको हो । बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनलाई बुधबार अनुमति दिएको हो ।

यो भ्याक्सिन क्रिसमस भन्दा अगाडि नै करिब ८ लाख जना ब्रिटेनबासीलाई लगाइने भएको छ । विश्वभर अहिले २१२ वटा भ्याक्सिन निर्माणको काम चलिरहेको छ । चीनले पहिलो चरणको परीक्षणअघि नै चारवटा भ्याक्सिन र रूसले तेस्रो चरणको परीक्षणअघि नै दुई भ्याक्सिनलाई अनुमति दिएको थियो ।

दुवै देशमा भ्याक्सिन लगाउने क्रम सुरु भइसकेको छ । तर तीन चरणको परीक्षणपछि विश्वमा अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई अनुमति मिलेको थिएन । यसैकारण फाइजर पहिलो यस्तो भ्याक्सिन भएको छ, जसले तीन चरणकै परीक्षणपछि सरकारबाट अनुमति पाएको छ ।

९५ प्रतिशत काम गर्ने

फाइजर र बायोएनटेकको यो कोरोना भ्याक्सीन तेस्रो चरणमा ९५ प्रतिशतसम्म काम गर्न सफल भएको थियो । बुधवार अनुमति मिल्नु पहिले बेलायतको मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी स्वास्थ्य सुरक्षामा नगरी फाइजर भ्याक्सिनलाई जतिसक्दो चाँडो अनुमति दिनेछ ।

अनुमति दिएपछि बेलायत सरकारले अब भ्याक्सिन दिनुपर्ने समूहलाई प्राथमिकतामा राखेर दिन थालिने छ । यो भ्याक्सिनको पहिलो खुराक वृद्धवृद्धालाई दिने तयारी भइसकेको छ । ८ लाख डोज भ्याक्सिन ५० वटा अस्पतालमार्फत दिइने भएको छ । साधरणतः कुनै पनि भ्याक्सिनको रिसर्चनदेखि लिएर त्यसलाई बनाउँदा र अनुमतिसम्म १० वर्षसम्म पनि लाग्न सक्छ ।

तर फाइजर यस्तो पहिलो भ्याक्सिन भएको छ, जसले कन्सेप्टदेखि उत्पादनसम्म करिब १० महिनामात्रै कुर्नुपरेको छ । फाइजरले नै अमेरिकामा पनि अनुमतिका लागि निवेदन दिएको छ । अहिलेसम्म फाइजर–बायोएनटेक, मोडर्ना, रूसको स्पूतनिक ५ र अक्सफोर्ड विश्वविद्यालय–एस्ट्राजेनेको भ्याक्सिनको तेस्रो चरणको नतिजा आएको छ । बेलायतले सात अलग–अलग उत्पादकसँग ४ करोड भ्याक्सिन किन्ने सहमति जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १६:१२