सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवाद

प्रधानमन्त्री ओली सहभागी नभएपछि नेकपा सचिवालय बैठक स्थगीत

२१ गतेलाई सारियो स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सचिवालय बैठक केही मिनेट बसेर सकिएको हो । एकजना अध्यक्ष ओली बैठकमा नगएपछि कार्यकारी अध्यक्षसहितको सचिवालय बैठकले २० गते फेरि बस्ने निर्णय लिएको हो ।

यससँगै भोलि बस्ने भनिएको स्थायी कमिटी बैठक पनि सरेको छ । ओली नगएपछि नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको हो । आगामी २० गते बस्ने गरी सचिवालय बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । यसअघि नेकपाले स्थायी कमिटीको बैठक भोली र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गतेलाई बोलाएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाका अनुसार बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अर्को बैठक २० गते बिहान ११ बजे र स्थायी कमिटी बैठक २१ गते बस्ने बताएका छन् । आजको प्रधानमन्त्री एवम् अध्यक्ष ओली सहभागी हुने भनेपछि दिउँसो १ बजेको निर्धारित बैठक २ बजेलाई सारिएको थियो । तर २ बजेपछि सुरु भएको बैठकमा पनि प्रधानमन्त्री उपस्थित नभएपछि केहीबेर मात्रै बसेर स्थगित भएको हो ।

हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्काचर्की भएको थियो । अध्यक्ष ओली आजको बैठकमा सहभागी नहुने बताइएको थियो । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले एक अर्कालाई आरोप लगाउँदै प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १६:०७