सूचनाको शक्ति - The Power Of Information

        

परियोजनाबारे स्थानीय तहलाई जानकारी गराइँदै

बझाङ । प्रगतिशिल युवा समाजले जिल्लाका स्थानीय तह अन्तरगत सञ्चालन हुने कार्यक्रमहरुका बारेमा सम्बन्धीत तहहरुलाई जानकारी गराएको छ । वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल तथा प्रगतिशिल युवा समाजद्घारा आर्थिक बर्ष सन् २०२१/२०२२ मा सञ्चालन हुने परियोजनाहरुका बारेमा केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकामा परियोजनाका बारेमा परिचयात्मक कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक तथा परियोजनाका सम्पर्क व्यक्ति लवराज जोशीले बाल प्रायोजन परियोजना, समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना र पोषण तथा जिविकोपार्जन परियोजना अन्तरगत हुने क्रियाकलाप, बजेट र कार्यक्रमको उद्देश्य माथि जानकारी गराएका थिए । उनले परियोजना सञ्चालनपछि उपलब्धी हासिल गर्नाका लागि प्रगतिशिल युवा समाजले मात्र नभइ स्थानीय तहको पनि महत्वपूर्ण भूमिका हुनेमा जोड दिए ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि विषयगत शाखाका प्रमुख तथा सञ्चारकर्मीहरुको सुझावसमेत लिएको थियो । कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिकाका गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामीले परियोजना अन्तरगत सञ्चालन हुने कार्यक्रमहरुका लागि गाउँपालिकाबाट सक्दो सहयोग हुने र काम गर्दा समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै आगामी दिनमा अन्य वडाहरुमा समेत परियोजना लागु गर्न आग्रह गरे ।

त्यसैगरि जयपृथ्वी नगरपालिकामा गरिएको कार्यक्रममा समेत परियोजनाको बारेमा विस्तृत गराएको थियो । जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले नगरपालिकाले गरेका गतिविधिहरु सँगसँगै परियोजना अन्तरगत सञ्चालित कार्यक्रमहरु सफल बनाउन सबैको हातेमालो जरुरी रहेको बताइन् । निमित प्रमुख प्रशासकीय रामबहादुर खड्काले परियोजनाबाट सफल नतिजा आउनुपर्ने र त्यसमा नगरपालिकाको साथ र सहयोग रहने बताए ।

यस बर्ष समाजले परियोजना सँगसँगै जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका थप १५–१५ वटा विद्यालयमा सुरक्षीत समावेशी र पहुँच योग्य सिकाई वातावरणको विकास गर्ने उद्देश्यले समेत थप काम गर्ने भएको छ । प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बालबालिकालाई सक्षम बनाउने उद्देश्यले परियोजनाले काम गरिरहेको बताउँदै सरकारले लिएको समृद्ध नेपालको नारालाई सफल बनाउन बालबालिका सक्षम हुनुपर्ने बताए ।

परियोजना सञ्चालन गर्न मात्रै नभइ उपलब्धी हासिल गर्नाका लागि गैरसरकारी संस्थामात्र नभई साझेदार संस्थासँग पनि समन्वय र सहकार्य जरुरी रहेको बताउँदै समाजका अध्यक्ष केसीले यसमा स्थानीय तहको भूमिका अझ महत्वपूर्ण हुने भएकाले एक अर्काबीच समन्वय र सहकार्य आवश्यक हुनेमा समेत जोड दिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु विषयगत शाखाका कर्मचारीको सहभागीता थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १५:४५