सूचनाको शक्ति - The Power Of Information

        

डिलाशैनीमा ११ दिनका लागि लकडाउन

बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ।

डिलाशैनीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले बताए। कोरोना जोखिम बढेको र गाउँपालिकामा अहिले १६ सक्रिय सङ्क्रमित रहेकाले विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको उनले बताए।

मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिने भएको छ। यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ।

लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ।

यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्सलगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ। पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशङ्का गरिएको छ।

यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मङ्सिर २२ सम्म लकडाउन गरेको छ।

बैतडीमा हालसम्म ५६८ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ४९९ ले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यस्तै, नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ। कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मङ्गलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले बताए।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १०:५५