सूचनाको शक्ति - The Power Of Information

        

ओली र दाहालबीच बाझाबाझ

सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि बस्दै : ओली बैठकमा नजाने

के के भयो हिजोको सचिवालय बैठकमा ?

काठमाडौं । आन्तरिक विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ ।

तर, बैठकमा अध्यक्ष केपी शर्मा ओली नै उपस्थित नहुने भएका छन् । ओलीले हिजो (मंगलबार)को बैठकबाट बाहिरिने क्रममा  बैठकमा उपस्थित हुनुको अर्थ नरहेको बताएका थिए ।

हिजो बसेको बैठकमा दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाझाबाझ भएको थियो । दुई अध्यक्षबीचको विवादमा सचिवालयका बहुमत सदस्यले दाहालको पक्ष लिएपछि अप्ठेरोमा परेका ओली बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए ।

उनी आजको बैठकमा नजाने ओली निकट एक नेताले जानकारी दिएका छन् । अध्यक्ष नै बैठकमा उपस्थित नहुने भएपछि आजको बैठक बस्ने की रोक्ने भन्ने अन्योलता बढेको छ ।

यद्यपी कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सदस्य जो जो उपस्थित हुन्छन् उनीहरु मात्रै बसेर भएपनि बैठक अघि बढाउनु पर्ने पक्षमा छन् । बैठक दिउँसो १ बजेलाई बोलाइएको छ।

के के भयो हिजोको सचिवालय बैठकमा ? 

हिजोको बैठकमा दाहालले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडी बढ्ने बताएलगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने भन्द हस्तक्षेप गरेका थिए ।

तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । त्यसलगत्तै प्रतिरक्षात्मक बनेका ओली बुधबारको बैठकमा आफू नआउने जनाउ दिएका थिए ।

कार्तिक २८ मा अध्यक्ष दाहाल र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने नगर्ने मै नेताहरुबीच भनाभनको अवस्था आएको थियो ।

बैठकको अध्यक्षता गरिरहेका दाहालबाट एजेण्डा सुनेपछि बोलेका ओलीले दाहालको प्रस्तावलाई लाञ्छनापत्र भन्दै फिर्ता भएमात्रै छलफल गर्न आफु तयार हुने बताएका थिए ।

ओली लाञ्छना पत्र मान्न नसकिने, बहुमत, अल्पमत र कमिटी पनि नमान्ने भन्दै जगिंएका थिए। ओलीले बैठकमा भने- तपाईहरुले पार्टी फुटाइसक्नुभएको छ, अब के को पार्टी एकता ? यो के को प्रस्ताव हो ? तपाइँहरुले लगाएका आरोपहरुको मैले जवाफ दिइसकेको छु ।

अब त्यसमा फेरि छलफल किन गर्ने यो हुनै सक्दैन ।’ ओलीले यस्तो भनेपछि दाहालसहितका बहुमत नेताले भने बैठकमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसकेको बताएका थिए । रामबहादुर थापा, इश्वर पोखरेलले पनि छलफल गर्नुपर्ने बताउएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ०७:५८