सूचनाको शक्ति - The Power Of Information

        

बन्द विद्यालय खुले, मापदण्ड पालना भएन

फाइल तस्वीर

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा विद्यार्थीहरु विद्यालय जाँदै थिए । नौ महिनापछि विद्यालय खुलेकाले होला, आइतबार विद्यालय जाँदा विद्यार्थी खुसी देखिन्थे । साथीसंगीसँग गफ गर्दै नयाँ किताब र नयाँ कक्षा कोठामा प्रवेश गर्दै गरेका विद्यार्थीको मुखमा मास्क थिएन । कोरोना कहरले गर्दा नौ महिनादेखि विद्यालय बन्द थियो ।

सरकारले विद्यालय सञ्चालन कार्यढाँचा जारी गरेपछि त्यसको पालना गर्ने गरी विद्यालय सञ्चालनमा आएका छन् । विद्यार्थीले विद्यालय जाँदा मास्क लगाउनुपर्ने नियम पालना भएको देखिएन । उनीहरुलाई हेर्दा लाग्थ्यो, कोरोना केही होइन । राप्तीसोनारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले कार्यढाँचा अनुसार शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनमा ल्याएको दावी गरे ।

उनका अनुसार, त्यो मापदण्डमा मास्क लगाउने, विद्यालयमा सेनिटाइजर प्रयोग गर्ने, थर्मलगन राख्ने, विद्यार्थीलाई दूरी कायम गरेर राख्ने लगायतका छन् । आइतबार पहिलो दिन उक्त मापदण्ड पालना भएको देखिएन । विद्यालय गइरहेका विद्यार्थीलाई मास्क खोइ ? भनेर सोध्दा जवाफ दिन सकेनन् । केहीले ‘विद्यालयले दियो भने लगाउँछौँ,’ भने । लामो समयपछि विद्यालय जान पाएकाले विद्यार्थी भने खुसी देखिन्थे ।

नेरामावि, चिलरिया बिनौनामा कक्षा १० मा पढ्ने करिश्मा थारुले लामो समयपछि विद्यालय जान पाउँदा खुसी लागेको बताइन् । करिश्माको जस्तै खुसी बैजापुरको जनशक्ति माविमा कक्षा १० मा पढ्ने लक्ष्मी थारुको पनि थियो । कोरोना कहर सुरु हुँदा लक्ष्मी र करिश्मा नौ कक्षामा पढ्थे । अहिले दश कक्षाको किताब बोकेर पहिलो दिन विद्यालय गइरहेका छन् । राप्तीसोनारी गाउँपालिकामा ५४ वटा सरकारी र १६ वटा संस्थागत विद्यालय रहेका छन् । सबै विद्यालय आइतबारदेखि खुलेको शिक्षा शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०७:१५