सूचनाको शक्ति - The Power Of Information

        

झडपमा एक जनाको ज्यान गयो, पाँच घाइते

बाँके । जानकी गाउँपालिका–५ बनियाँ गाउँमा स्थानीयबीच सोमबार झडप हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही वडाका धनीराम यादव छन् । झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएका बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

हरेक वर्ष पूर्णिमाका दिन स्थानीय श्यामसुन्दर नागाबाबा कुटीमा लाग्ने मेला हेर्न गएका बेला बनियाँगाउँका एक युवकलाई कुटपिट गरिएको घट्नाले उग्र रुप लिएपछि दुई समुदाबीच झडप भएको हो । हरेक वर्ष पूर्णिमाका दिन लाग्ने गुरुवा गाउँ मेलामा हेर्न पुगेका बनियागाउँका युवा नरेश काँदुलाई स्थानीय युवाले कुटपिट गरेपछि घट्नाले उग्रता पाएको प्रहरीको भनाई छ ।

घटनामा संग्लन चार जनालाई पक्राउ गरिएको छ । बिगतदेखिको रिसिइबीका कारण यस्तो हुन सक्ने प्रहरीको आशंका छ । गाउँमा काँदु र यादव समुदायबीच पटक पटक बिवाद हुँदै आएको प्रहरीको रिर्पोटमा उल्लेख छ । झडप उग्र भएपछि दुबै समुदाबीचमा लाठी प्रहार, ढुंगा हानाहान, घरका ढोका फोडेरसमेत कुटाकुट भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०७:०६