सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै छोरीको गोली हानी हत्या !

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबुआमा नै पक्राउ परेका छन । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता कुमारी साहको हत्या आरोपमा उनकै आमाबाबु पक्राउ परेका हुन् । अमृताका बुबा राम अयोध्या साह तेली, आमा सितासहितलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाइ प्रहरीले आइतबार सार्वजनिक गरेको थियो ।

अनुसन्धानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । प्रहरीका अनुसार मृतक अमृताको सोही स्थानका ३० वर्षीय थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखि प्रेम सम्बन्ध थियो, तर उनका परिवारले २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका–३ बस्ने रुपेश साहसँग जबरजस्ती मागी विवाह गराइदिएका थिए ।

तर अमृता र उनको पति रुपेशबीच २०७७ साल असारमा सम्बन्धविच्छेद भएको थियो । मृतकका बुबा राम अयोध्याले परोहा नगरपालिका–४ बस्ने छोटेलाल साहलाई गत कार्तिक ९ गते एक लाख पचास हजार रुपैयाँ दिई भारतमा लगेर मार्ने योजना बनाएका अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उक्त योजना असफल भएको प्रहरीको भनाइ छ । अमृता माइतीघरमा आमासँग सुतिरहेकी अवस्थामा गोली हानी हत्या गरिएको थियो ।

रौतहटमा आफ्नो इज्जत जोगाउन बुबाले आफ्नै छोरीको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख शाहले पत्रकार सम्मेलनमा बताए । हत्यामा संलग्न भएको आरोपमा आमाबुवासँगै प्रहरीले देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया करुनिया बस्ने अन्दाजी ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने इस्लाम अन्सारी, ३६ वर्षीय शेख इम्ताज, परोहा नगरपालिका–४ का अन्दाजी ४५ वर्षीय छोटेलाल साहलाई पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक शाहले जानकारी दिए । माइतीघरमा आमासँग सुतिरहेकी अमृताकी आमा चर्पी गएको बेलामा अज्ञात व्यक्तिहरु उनको घरमा छिरेर दाहिनेपट्टिको कन्चटमा गोली हानी हत्या गरी फरार भएका थिए ।

फेरि देवाही गोनाही नगरपालिकाका–२ लक्ष्मिनिया करुनिया बस्ने कैमुल देवानलाई एक लाख दिई गोली हानी हत्या गर्न लगाएको भन्ने खुल्न आएको प्रहरी प्रमुख शाहले बताएका छन् । अमृताको हत्या गरेलगत्तै फरार रहेका मुख्य अभियुक्त कैमुल देवानलाई सर्लाही मलंगवा नगरपालिकामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको एसपी शाहले बताए । उक्त घटनामा संलग्न लक्ष्मण साह भने अझै फरार रहेका खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०६:४३