बाँके । नेपाल प्रहरीले केही वर्ष अघिमात्र ‘मुस्कानसहितको सेवा’ र ‘प्रहरी मेरो साथी’ नामक अभियान चलाएको थियो । शायद कुनै दातृ निकायको परियोजना थियो, त्यो । जिल्लाहरूमा आकर्षक ब्यानरका साथ प्रभातफेरीदेखि लिएर सदरमुकामका विभिन्न होेटलमा कार्यक्र चल्ने शिलशिला जारी थियो ।
अचेल त्यस्ता प्रभातफेरी र कार्यक्रमहरू भएको देखिँदैन । परियोजना सकिएर हो कि किन थाहा भएन । प्रहरीलाई तालिम र प्रशिक्षणका नाममा नेपालमा बर्सेनि करौडौं रकम खर्चिने गरिन्छ, तर नेपालको ‘पुलिसिङ’प्रति बारम्बार प्रश्न उठ्ने गरेकै छ । विभिन्न आन्दोलनमा प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गर्नु सामान्य कुरा भइसकेको छ ।
‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको प्रहरी सेवा’ले प्रहरी संगठनभित्रको व्यवहारमा कुनै सुधार आएको छैन । प्रहरी संगठनलाई थप जनमूखी बनाउन ल्याइएका यस्ता कार्यक्रमले निरन्तरता नपाउँदा प्रहरी कर्मचारीको व्यवहार सुध्रिएन । यस्ता व्यवहारहरु ट्राफिक प्रहरी कर्मचारीहरुमा पनि बारम्बार देखिरहन्छ । जसका कारण सवारी चालकहरुले अपमान सहनुपर्छ ।
सडकमा ट्राफिक प्रहरी र सवारी चालकबीच बेलाबेलामा ठोकाठोक भइरहन्छ । तर कति बाहिर आउँछ, कति ट्राफिक प्रहरीको डरले बाहिर आउँदैन । आफ्नो मूख्य जिम्मेवारी ट्राफिक व्यवस्थापनभन्दा अन्यत्रै ध्यान दिँदा बाँकेको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बढ्दो जनसंख्या र शहरी क्षेत्रको विकाससँगै बाँकेमा सवारी साधनको चाप बढ्दो क्रममा रहेको छ ।
नेपालगन्ज, खजुरा, कोहलपुर लगायतका शहरोन्मुख क्षेत्रहरुको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । सवारीको बढ्दो चापसँगै फितलो ट्राफिक व्वस्थापनले सवारी नियम उल्लङ्घन बढ्दै गएको नागरिकहरु बताउँछन् । बाँकेमा दैनिक ४५–५० हजारको हाराहारीमासवारी साधन गुड्ने अनुमान छ । तर, ट्राफिक व्यवस्थापन भने निकै फितलो छ ।
सवारी साधनको वृद्धिदर उच्च रहेसँगै ट्राफिक व्यवस्थापन गतिलो नहुँदा नेपालगन्जको ट्राफिक व्यवस्था झन् जटिल बन्दै गएको नेपालगन्ज–१, धम्बोझीका हिक्मत शाहीले बताए । ‘ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा चालकहरुलाई थर्काउने, हप्काउने र गाली गर्नेजस्ता व्यवहारले ट्राफिक प्रहरीको मुस्कानसहितको सेवा होइन त्रासदीपूर्ण सेवा छ,’ उनले भने ।
सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले थर्काउने, हप्काउने र गाली गर्नेजस्ता व्यवहारले सवारी चालकहरु त्रसित हुँदै आएको गुनासो बढिरहेको छ । राजस्व संकलन र साँझको चेकजाँचलाई प्राथमिकता दिइरहेको ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनेतर्फ कुनै चासो नदिएको बताउँछन्, नेपालगन्ज–४ का लालबहादुर रोकाय ।
यसअघि जसोतसो ट्राफिक व्यवस्थापन भइरहे पनि ट्राफिक प्रमूखका रुपमा राजु भण्डारी आएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । उनले ट्राफिक व्यवस्थापनतर्फ भन्दा सन्ध्याकालिन चेकजाँच र राजस्व संकलनलाई ध्यान दिइरहेका छन् । नेपालगन्जको मुख्य सडक सुर्खेत रोड ओहोरदोहोर गर्ने सवारी साधनको चापका कारण निकै व्यस्त बन्ने गरेको छ ।
‘सवारी चाप बढिरहेको छ, ट्राफिक व्यवस्थापन शुन्यजस्तै छ,’ नेपालगन्ज–२० मनिकापुरका मनोज रोकायले भने । मध्य तथा सुदूरपश्चिमको केन्द्रविन्दुका रुपमा रहेको नेपालगन्ज आमनागरिकले सोचेजस्तो छैन । दिनहुँ बढ्दो सवारी चाप र अस्तव्यवस्त नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापनले पैदल यात्रुलाई समेत सास्ती भइरहेको छ ।
धम्बोझी चोक नजिकै पैदल यात्रा गरिरहेका जाजरकोटका रामसिंह राना भन्छन्, ‘केही बर्ष पहिले सडकमा हिँड्दा सजिलै हुन्थ्यो, अहिले कसैले ठोक्देला भन्ने डर हुन्छ । नेपालगन्जमा घुम्दा गाडीले पछाडीबाट हान्दिन्छ की भन्ने डर लाग्छ ।’ नेपालगन्जमा दैनिकजसो सयौंको संख्यामा सवारी साधनहरु ओहोरदोहोर चलिरहन्छ ।
सयौंको संख्यामा अटोरिक्साहरु दौडिन्छन् । नेपालगन्जको गणेशमान चौक, धम्बोझी चौक, पुष्पलाल चौक, काँरकादो चोक हुँदै राँझा चौकसम्मको ट्राफिक व्यवस्थापन निकै फितलो र अस्तव्यस्तपूर्ण छ । तीव्र गतिमा सवारी साधनहरुको ओहोरदोहोरले सडक यात्रुहरुलाई निकै तनाव हुने गरेको नेपालगन्ज–१८ काँरकादोका स्थानीयबासी पूर्णबहादुर शाही बताउँछन् ।
ट्राफिक व्यवस्थापन कमजोर हुँदा जिल्ला ट्राफिक प्रहरी भने ट्राफिक व्यवस्थापनमा क्रियाशिल देखिँदैन । पछिल्लो समयमा ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा भन्दा राजस्व असुलीमा ध्यान दिइरहेको एक सर्वसाधारण बताउँछन् । ट्राफिक प्रहरी विभिन्न कमजोरीको बाहना निकालेर राजश्व असुलीमा केन्द्रीत भएको सर्वसाधारणहरुको आरोप छ ।
‘बजार समान्यतया भीड हुन्छ । तर सडक जाम र अस्तव्यस्त ठाउँमा ट्राफिक प्रहरीको ध्यान जाँदैन,’ एक पैदल यात्रुले भने, ‘ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा भन्दा राजश्व असुलीमा तल्लीन देखिन्छ । यसले नागरिकलाई त्रसित मात्र होइन आक्रोसितसमेत बनाएको छ । प्रहरी संगठनभित्र भन्ने मुस्कानसहितको सेवा ट्राफिक प्रहरीमा देखिँदैन ।’
विभिन्न स्थानमा जरिवानाका नाममा ट्राफिक प्रहरी परिचालन गर्ने र सामान्यभन्दा सामान्य कुरामा राजश्व असुलीलाई तिव्रता दिइनुले नागरिकहरुमा ट्राफिक प्रहरीप्रति नकारात्मक सोच आएको छ । घण्टौंसम्म बजारमा ट्राफिक जाम हुँदा जिल्ला ट्राफिक प्रहरीको ध्यान गएको देखिँदैन, खजुराका विकास बज्राचार्य बताउँछन् ।
‘मुस्कानसहितको प्रहरी सेवा होइन, नागरिकसँग बाध्यात्मक र त्रसित बनाउने ट्राफिक प्रहरी सेवा भयो । ट्राफिक प्रहरी नागरिकमैत्री होइन राजस्वमैत्री भएको छ । नागरिकको जीउधन भन्दा राजस्वमा ध्यान छ,’ बज्राचार्य भन्छन् । अधिकांश सवारी चालक तथा सहचालकहरु आफूलाई ट्राफिक प्रहरीले गर्ने व्यवहार रुखोे, हेपाहा र अपमानजनक हुने गरेको बताउँछन् ।
सामान्य कागजात माग्दासमेत अपमानजनक भाषा प्रयोग गर्ने, के गल्ती गरेको भन्ने जानकारी नै नदिएर लुटेराको शैलीमा कागजात लैजाने ट्राफिक प्रहरीको व्यवहारले नागरिकहरु आजित छन् । ‘ट्राफिक प्रहरी कहिल्यै मुस्कुराएको देखेकै छैन । उसको व्यवहार सधैं रुखो र अपमानजनक हुन्छ,’ नाम नबताउने शर्तमा एक जना सवारी चालकले भने ।
विभिन्न कमजोरी देखाएर रकम तिर्न बाध्य पारिनुले पनि राजश्व संकलन प्राथमिकतामा दिएको पुष्टी ह्न्छ । यसरी बिनाकारण ट्राफिक कारबाहीले नागरिकलाई चेतनाभन्दा आक्रोशित बताउँछ । सरुवा भएर बाँके आउने ट्राफिक प्रहरी प्रमूखले ट्राफिक व्यवस्थापनभन्दा राजस्व संकलनलाई लक्षित गरेर आफ्नो कमाईलाई महत्व दिँदा अरु विषय ओझेलमा पर्छन् ।
‘बाँकेमा आउने ट्राफिक प्रहरी प्रमूखका लागि आफ्नो कार्यकालमा कसरी धेरै रकम कमाउन सकिन्छ भन्ने ध्याउन्न हुन्छ,’ एक जना पूर्व ट्राफिक प्रहरीले भने, ‘यहाँ जथाभावी पार्किङ्ग कहिल्यै व्यवस्थित भएन । पार्किङ्गस्थलकै व्यवस्थापन नहुँदा यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्तता मात्रै भइरह्यो, कहिल्यै सुधार भएन ।’
त्यसो त तोकिएको भाडादर, यात्रुको सहजता, तीव्र गति, यात्रु तानातान गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतको व्यवस्थापन तथा अनुगमनमा ट्राफिक प्रहरीले कहिल्यै ध्यान दिएको पाइँदैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी निरिक्षक राजु भण्डारीसँग यस विषयमा सम्पर्क गर्न खोज्दा प्रयास सफल हुन सकेन ।
सत्यपाटी ।