बझाङ । बझाङमा तत्कालिन जिल्ला विकास समितिको स्काभेटर केहि बर्षदेखि नेपाली सेनाको भोपुर ब्यारेकमा थन्किएको छ । आर्थिक बर्ष २०७२/०७३ मा तत्कालिन जिल्ला विकास समितिले एक करोड ४० लाखमा उक्त इकाभेटर खरिद गरेको थियो । खरिद गरेको केहि बर्ष सडक कटान तथा अन्य काममा प्रयोग भएको स्काभेटर केहि बर्षदेखि बिग्रिएर सेनाको ब्यारेकमा थन्किएको छ ।
तत्कालिन बझाङका ४७ वटा गाविसबाट प्रत्येक गाविसबाट एक एक लाखको दरले ४७ लाख र बाँकी जिल्ला विकास समिति रकम व्यहोर्ने गरी उक्त मेसिन खरिद गरेको थियो । त्यतिबेला बझाङमा कहिँकतै पनि सडक तथा बाटोघाटो निर्माणका काममा स्काभेटर प्रयोग हुँदन्थ्यो । केही समययता भने सडक निर्माण तथा अन्य कामहरु गर्न महङ्गो भाडा तिरेर निजी स्काभेटरबाट काम गराउनुपर्ने बाध्यताका कारण तत्कालिन जिविसले स्काभेटर खरिद गरेको थियो ।
सबै गाविससँगको समन्वय र लागतमा खरिद गरिएको उक्त मेसिन लामो समयदेखि बिग्रिएर नेपाली सेनाको भोपुरस्थित ब्यारेकमा थन्क्याइएको छ । केही समय गाविस तथा सरकारी कार्यालयहरुको भवन तथा सडक निर्माणका काममा प्रयोगका क्रममा बिग्रिएर थन्किएको मेसिन मर्मतका लागि कसैले पनि चासो नदेखाएपछि जीर्ण बनेको छ । जिल्ला समन्वय समितिका संयोजक खडकबहादुर खड्काले तत्कालिन गाविस तथा जिविसको सर्वदलीय संयन्त्रको पालामा उक्त मेसिन खरिद भएको जानकारी दिए ।
‘हाल समन्वय समितिमा उक्त मेसिन मर्मतका लागि रकम छैन । गाउँपालिका तथा नगरपालिकाका प्रमूखलाई नयाँ मेसिन खरिद गर्नुभन्दा सोही मेसिनलाई मर्मत गरी सञ्चालन गर्न सुझाएको भए पनी कुनै प्रतिक्रिया नदिएपछि मर्मतमा समस्या भएको छ,’ संयोजक खड्काले भने, ‘अहिले स्थानीय तहहरुमा मेसिन किन्ने होडबाजी चलिरहेको भए पनि कुनै पनि पालिकाले मर्मत गर्ने चासो देखाएका छैनन् ।’ ब्यारेकमा राखिएको उक्त मेसिनको खिया लागेर सबै पार्टपूर्जाहरु पुन मर्मत गर्नुपर्ने देखिन्छ ।
बझाङमा केहि स्थानीय तहहरुमा मेसिन भए पनि गाउँपालिका तथा नगरपालिकाकै काममा निजी मेसिन प्रयोग गर्न गरिएको नागरिक समाजका अगुवा धर्मजङ्ग बहादुर सिंहले बताए । उनले भने, ‘खरिद गर्नेबेला होडबाजी गर्ने तर, प्रयोग गर्ने क्रममा बिग्रिएपछि थन्क्याएर राख्ने प्रवृत्तिका कारण सरकारी सम्पत्ती बेवारिसे बनिरहेको छ । यसका लागि सम्बन्धीत निकायहरुले ध्यान दिनुपर्छ ।’ उनले सरकारी सामानहरु खरिद गरी हेरचाह तथा संरक्षण नगर्ने हो भने राज्यको लगानी डुब्ने बताए ।
सत्यराज सिंह ।