सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा अस्पताल सञ्चालनमा आएपछि स्थानीय खुसी

बाँके । राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा १५ शैयाको अस्पताल सञ्चालनमा आएपछि त्यस क्षेत्रका स्थानीयहरु सुखी भएका छन् । अस्पताल सञ्चालनमा आएसँगै जटिल रोगको उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । सामान्य उपचारका लागि नेपालगन्ज र कोहलपुर धाउनुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयहरु बताउँछन् ।

राप्तीसोनारी अस्पतालले आइतबारबाट औपचारिकरुपमा सेवा सञ्चालनमा ल्याएसँगै स्थानीयहरुमा खुसीयाली छाएको छ । उक्त अस्पतालको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले औपचारिक रुपमा उद्घाटन गरेका छन् । अस्पतालको उद्घाटन गर्दै प्रमुख अध्यक्ष थारुले अस्पतालको सेवालाई गुणस्तरिय बनाउने प्रतिबद्धता जनाए ।

सरकारको नीति अनुसार राप्तीसोनारीमा अस्पताल सञ्चालन भएपछि गाउँपालिकाबासीलाई धेरै राहत मिलेको बताए । नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार अस्पताललाई नियमित रुपमा सञ्चालन गरिने र अस्पताल सञ्चालनका लागि कार्यविधी बनाउने तयारीमा गाउँपालिका रहेको पनि उनले जानकारी दिए । ‘अस्पताल नामाकरणका लागि विभिन्न नाम प्रस्ताव भए पनि राप्तीसोनारी अस्पताल नामाकरण गरिएको उनले बताए ।

अस्पतालले यसक्षेत्रका बिरामीलाई सस्तो भन्दा सस्तोमा सेवा दिने गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारी क्षेत्रमा एमबिबिएस डाक्टरसहितको अस्पताल सञ्चालनमा आएपछि यहाँका जनताले सुबिधा पाएको बताइन् । अस्पताल सञ्चालनमा आएसँगै बिरामीहरु सानोतिनो रोगको उपचारका लागि बाहिर जानु नपर्ने उपाध्यक्ष खत्रीको भनाई छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष कान्छा थारु, राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेत, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन न्यौपाने, भेरी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर संकेत रिसाल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले अस्पताल सञ्चालन भएपछि ग्रामीण क्षेत्रका नागरिकहरु स्वास्थ्य सेवाको पहुँचमा आएको बताए ।

सरकारले प्रत्येक गाउँपालिका र नगरपालिकामा १५ शैयाको अस्पताल बनाउने नीति अनुसार तत्कालिन बैजापुर स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल सञ्चालन गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले जानकारी दिए । उनका अनुसार उक्त अस्पतालले साधारण शल्यक्रिया सेवासमेत प्रदान गर्नेछ । अस्पतालसँग हाल १२ कोठे नवनिर्मित भवन रहेको छ । गाउँपालिकाले उक्त अस्पतालका लागि एमबिबिएस डाक्टर गोविन्दप्रसाद चौधरीलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ०७:१४