बाँके । बाँकेको अति पिछडिएको र दुर्गम गाउँकार्यपालिकाका रुपमा रहेको नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन शाखाले पूर्वतयारीका लागि बिभिन्न निर्णयहरु गरेको छ । बिगतको अनुभवहरुबाट सिक्दै विपद् व्यवस्थापन शाखाले बिपदका बेला सक्षमरुपले सामना गर्न र क्षति न्यूनीकरणका लागि तयारी थालेको हो ।
गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले जुनसुकै बिपद् वा महामारीमा अकालमै ज्यान गुमाउने मृतकका परिवारलाई २५ हजार सहयोग गर्ने निर्णयसमेत गरेको छ । यस्तै कोरोना कहरका बेला नागरिकहरुलाई सुरक्षित राख्नका लागि स्थानीय विपद व्यवस्थापन समितिले पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढने विपद् व्यवस्थापन शाखा संयोजक लक्ष्मीकान्त मिश्राले बताए ।
समितिको पहिलो बैठकले पूर्वतयारी प्रतिकार्य योजना पुस्तिका निर्माण गर्ने,सामुदायिक बन उपभोक्ता समुहहरुबीच छलफल तथा अन्तक्रिया गरी पहाडे खोला, नाला नजिक वृक्षरोपण तथा डढेको नियन्त्रणका लागि अग्नी रेखा निर्माण गराउने, शितलहरमा गाउँभित्र तथा चोक चोकमा दाउरा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको जनाएको छ ।
यस्तै शितलहरमा जेष्ठ नागरिक, एकल महिला, असहाय, अपाङ्गहरुलाई न्यानो कम्बल वितरण गर्न योजना बनाउने, कोभिड १९ मा खटिएका कर्मचारीलाई सम्मान गर्ने, वडा स्तरीय विपद् ब्यवस्थापन समिति गठन, विपद् प्रतिकार्य पूर्वतयारीका सामाग्री खरिद, विपद् प्रतिकार्यका लागि सचेतना कार्यक्रम सञ्चालन, विद्यालयहरुमा विपदसम्बन्धि सचेतना तथा विपद् शाखाका तर्फबाट स्वास्थ्य सामाग्रि खरिद गर्ने लगायत निर्णय गरिएको शाखाका संयोजक मिश्राले बताए । आकस्मिकरुपमा आइपर्ने बिपदसँग सामना गर्न गाउँपालिकाले १ करोड बजेटसमेत छुट्टयाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।
सत्यपाटी ।