सूचनाको शक्ति - The Power Of Information

        

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ ।

आज(आइतबार) बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुुनभएको हो ।

महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा रहेको समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत प्राप्त गर्नुभयो भने प्रधानको पक्षमा ५३ मत परेको छ ।

त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ मत ल्याउँदा प्रधानको पक्षमा ३ सय ७५ मत परको छ ।

२० प्रतिशत हिस्सा रहेको वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याउनु भएको छ । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ ।

यसमा ढकालले ५४ दशमलव २६ मतभार प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५ दशमलव ७४ प्रतिशत मतभार प्राप्त गर्नुभयो । निजी क्षेत्रको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि हिजो मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदलाई आकर्षक मानिन्छ । यो साधारणसभाले शेखर गोल्छा स्वतः अध्यक्ष चयन गरिसकेको छ ।

वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए । महासंघको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए ।

कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा वस्तुगततर्फ १ सय १, जिल्ला तथा नगरमा १सय ५ र एशोसिएटतर्फ ९सय३ मतदाता रहेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार १०:१५