सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा गाईको निःशुल्क बीमा

बाँके । बाँकेको खजुरा गाउँपालिकामा पालिएका सबै गाईको निःशुल्क बीमा गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । सो गाउँपालिकामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्थासँगको सहयोगमा गाउँपालिकाले किसानका सबै गाईको निःशुल्क बीमा गर्ने कार्य गरिरहेको जनाएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकाले सबै किसानको घरदैलोमा बीमा कम्पनीका प्रतिनिधि सहितको टोली खटाएर बीमा गर्ने कार्य गरिरहेको बताए । उनले गाउँपालिकामा रहेका ६५० भन्दा बढी गाईको बीमा गरिने योजना रहेकोमा हालसम्म ४५० गाईको बीमा गरिसकिएको बताए ।

अध्यक्ष कक्षपतिले गाईको मूल्याङ्कन गरेर बीमा गर्ने कार्य भइरहेको जनाउँदै न्युनतम प्रतिगाई १० हजारदेखि अधिकतम एक लाख रुपियाँसम्मको बीमा भइरहेको बताए । गाईको बीमा गर्नुपर्ने माग अधिकांश किसानबाट आएकाले किसानको सुविधा र सहयोगका लागि निःशुल्क बीमा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

खजुरा गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउन गाउँपालिका र जनता दुग्ध सहकारी संस्थाले मिलेर बीमा गराउन सुरु गरिएको जनता दुग्ध सहकारी संस्थाका व्यवस्थापक गौरव सापकोटाले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार ०९:१६