सूचनाको शक्ति - The Power Of Information

        

अपराध

तीन वर्षमा बाँकेमा लागूऔषधका ५८४ मुद्दा दर्ता, ९९७ जना पक्राउ

बाँके । बाँकेमा पछिल्लो तीन वर्षको अवधिमा लागूपदार्थको कारोबार र ओसारपसार डरलाग्दो रूपमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर लागूऔषधको सेवन र ओसारपसार नियन्त्रणमा सक्रियता देखाए पनि खुला सीमाका कारण यसको सेवन र ओसारपसार रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार पछिल्लो तीन वर्षमा लागूऔषध सम्बन्धी ५८४ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा ९९७ जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ । भारतबाट लुकिछिपी ब्राउनसुगर, कोरेक्स, नाइट्राजेपाम लगायतका लागूऔषध नेपालगन्ज भित्रिने गरेको छ ।

‘नेपालगन्ज भएर विभिन्न पहाडी जिल्लामा उत्पादन हुने गाँजा, चरेश र अफिम भारत जाने गरेको छ । लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रियतासँगै जनचेतनामूलक अभियान पनि चलिरहेको छ,’ प्रहरी उपरीक्षक रानाले भने, ‘लागूऔषधको सेवन र ओसारपसार ठूलो चुनौतीका रूपमा रहेको छ ।’

लागूऔषध कारोबार र ओसारपसार गर्नेले नेपालगन्जलाई हब बनाएको पाइएको सुरक्षाकर्मीले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म ११४ ग्राम ब्राउनसुगर, १५ लिटर कोरेक्स र १६५ ट्याब्लेट नाइट्राजेपाम बरामद भएको छ । कोभिड–१९ का कारण सीमा नाका बन्द भए पनि खुला सीमाको फाइदा उठाउँदै लागूऔषध ओसारपसारले निरन्तरता पाएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार ०८:५८