सूचनाको शक्ति - The Power Of Information

        

बलात्कार घटना मिलाएको आरोपमा २ जना पक्राउ

बैतडी । एक तोला सुन दिने तमसुक बनाएर किशोरी बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा दुई जनालाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीको बलात्कारपछि गर्भपतन गराएको घटना मिलापत्र गराएको आरोपमा सिगास–३ का मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

उनका अनुसार पीडित पक्षले दिएको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । घटना मिलाउने अर्का आरोपित राजेन्द्र धामीको खोजी भइरहेको छ ।

बलात्कार आरोपित सोही ठाउँका दीपकसिंह धामी भने भारतमा रहेको बुझिएको डीएसपी अधिकारीले बताए । गत जेठ २३ गते बिहान ४ बजेतिर पानी भर्न कुवामा गएका बेला गाउँकै युवक दीपक धामीले बलात्कार गरेको किशोरीको आरोप छ ।

गत असार १४ गते कात्तिक मसान्तभित्र ती युवकले एक तोला सुन दिने सर्तमा गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो । सुन नदिएर उल्टै किशोरी र उनको परिवारलाई धम्क्याउन थालेपछि पीडित किशोरी बिहीबार जिल्ला प्रहरीमा पुगेकी थिइन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार ०८:५२