सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज, दुई समूह प्रतिस्पर्धामा

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन आज काठमाडौंमा हुँदैछ । दिनभर चल्ने मतदान उपत्यकाका कार्की ब्याङ्केट (माइतीघर), महासंघको कार्यालय (टेकु) र प्रज्ञा प्रतिष्ठान (कमलादी) गरी तीन ठाउँमा हुने महासंघको निर्वाचन समितिले जानकारी दिएको छ ।

उद्योगी व्यवसायीहरुको निर्वाचन निर्धारित समयभन्दा झण्डै ९ महिना ढिलो गरी भइरहेको हो । आज बिहान ८ बजेदेखि तोकिएको तीन स्थानमा मतदान हुँदैछ । खासगरी, निर्धारित समय अनुसार गत वर्षको चैतको अन्तिम सातामा साधारण सभा र निर्वाचन सम्पन्न भइसक्नुपर्ने थियो । तर, कोभिड–१९ लगायतका कारणले दुईपटक पछाडि धकेलिँदै मंसिरमा आइपुगेको हो ।

मंसिर ११ देखि सुरु भई दुई दिनसम्म चलेको ५४ औं वार्षिक साधारण सभा मंसिर १२ गतेको बन्द सत्र सकेर सम्पन्न भएपछि निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको थियो । निर्वाचनमा दुई समूहमा बाँडिएर देशभरका १२३ उद्योगी व्यवसायीले उम्मेदवारी दिएका छन् । यस्तै, एक हजार ११६ मतदाता पनि दुई समूहमै बाँडिएर निर्वाचनमा सहभागी भइरहेका छन् ।

दुई समूह प्रतिस्पर्धामा

आज दिनभर चल्ने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ढकालको समूहबाट गुणनीधि तिवारीले जिल्ला/नगर, उमेशलाल श्रेष्ठले वस्तुगत र रामचन्द्र संघाईले एशोसिएट उपाध्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

ढकाल प्यानलका दुईजना भने निर्वाचनअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै अर्का प्रतिस्पर्धी प्रधानको समूहबाट दिनेश श्रेष्ठले जिल्ला/नगर, अन्जान श्रेष्ठले वस्तुगत र सौरभ ज्योतीले एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रधानलाई संस्थापनको साथ

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई महासंघको संस्थापनले खुलेरै साथ दिएको छ । निवर्तमान, वर्तमान र भावी अध्यक्षले खुलेरै प्रधान आफ्नो समूहको उम्मेदवार भनिरहेका छन् । भावी अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारका आफ्नो समूहको उम्मेदवारहरूलाई चुनाव जिताउन भन्दै चुनावी अभियानमा देशदौडाहामै निक्लिएका थिए ।

संस्थापनको साथ पाएपछि आफूले चुनाव जित्ने आधार बनिसकेको प्रधान बताउँछन् । यद्यपि अर्का उम्मेदवार चन्द्र ढकालमा संस्थापनको साथ नपाए पनि चुनाव जितेर भावी अध्यक्ष बनेरै छाड्ने मनस्थितिमा छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार ०८:२८