सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम सफा रहन्छ : मौसमविद

काठमाडौं । देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव हटेकाले देशभर शुक्रबार रातिदेखि नै मौसम सफा भएको मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् ।

उनले भने, ‘देशभरको मौसम सफा छ । दुई–चार दिनलाई पानी पर्ने त्यस्तो कुनै प्रणाली छैन । देशभरको मौसम सफा नै रहन्छ ।’

तर जाडो भने बढ्ने क्रममा रहेको उनले बताए । उनले भने, ‘जाडोको मौसम भएकाले विशेष गरि पहाडी तथा हिमाली क्षेत्रमा तापक्रम घट्दै जानेछ । तराई तथा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान भिजिबिलिटी कम हुने अर्थात कुहिलो लाग्ने छ । तर यो दिउँसो हटेर जान्छ ।’

विगतका दुई दिन पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको थियो र केही स्थानमा हल्का पानी पनि परेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार ०८:२२