काठमाडौं । सरकारले चिनियाँ रक्षा मन्त्री वेई फेङ्वे नेपालको एक दिने भ्रमणमा आउने औपचारिक जानकारी उनको आगमनको एकदिन पहिले दिएको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर चिनियाँ रक्षा मन्त्री वेई आइतबार एक दिने भ्रमणका लागि नेपाल आउने औपचारिक जानकारी दिएको हो । आइतबार बिहान काठमाडौँ आउने वेईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् ।
यस्तै उनले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सेनाले हेडक्वाटरमा वेईलाई गार्ड अफ अनर पनि प्रदान गर्ने छ ।
चिनियाँ रक्षा मन्त्री वेई आइतबार बेलुका नै काठमाडौँबाट उड्ने छन् । पछिल्लो समय दुई छिमेकी देश भारत र चीनबाट नेपालमा लगातार उच्चस्तरीय भ्रमण भएका छन्।
दुई दिने औपचारिक भ्रमण सकेर भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गला शुक्रबार स्वदेश फर्किएका थिए ।
सत्यपाटी ।