सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्जमा आज हिन्दूवादीहरुको शक्ति प्रदर्शन

फाइल तस्वीर

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टीको संयोजनमा हिन्दूवादीहरुले आज नेपालगन्जमा शक्ति प्रदर्शन गर्दैछन् । हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै देशभर प्रदर्शन तथा र्‍यालीहरु गर्दै आएका हिन्दूवादी संघ संगठनहरुले आज नेपालगन्जमा र्‍यालीसहितको प्रदर्शन गर्ने भएका हुन् ।

नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनःस्थापना, संघीयता खारेजीको माग राख्दै हिन्दूवादीहरुले नेपालगन्जमा पनि शक्ति प्रदर्शन गर्न लागेको जनाएका छन् । राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागलाई थप शसक्त बनाउन हिन्दूवादीहरुले नेपालगन्जमा प्रदर्शन गर्न लागेको बताए ।

केन्द्रीय सदस्य देवकोटाले आजको कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिँदै कार्यक्रम सफल बनाउन करिब २०० जना स्वयंसेवकहरु परिचालन गरिएको पनि बताए । उनले हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्थावान्, हिन्दूवादी संघसंगठन, शुभेच्छुक र विभिन्न अन्य राजनीतिक दलमा आवद्ध नागरिकको सहभागिता हुने पनि बताए ।

केन्द्रीय सदस्य देवकोटाले आजको शक्ति प्रदर्शनमा १० हजार बढीको उपस्थिति रहने दावी गर्दै हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्था राख्ने युवाहरुको संख्या धेरै रहेकोले प्रदर्शनमा पनि युवाहरुको ठूलो उपस्थिति धेरै रहने बताए । प्रदर्शनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि सुरक्षाका सबै तयारीहरु पनि पुरा भएको केन्द्रीय सदस्य देवकोटाले बताए ।

उनले प्रदर्शन पार्टी बिषेश नभई सम्पूर्ण हिन्दूवादीहरुले आयोजना गरेकाले राष्ट्रिय झण्डा बोकेर कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । प्रदर्शनका क्रममा अवान्छित गतिविधि हुन नदिन स्वयंसेवी युवाहरु परिचालनसँगै प्रहरी प्रशासनलाई पनि सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिसकेकोले कार्यक्रम शान्तिपूर्ण र सद्भावपूर्ण रुपमा सम्पन्न हुने जनाइएको छ ।

नेपालगन्जमा शक्ति प्रदर्शनका लागि आयोजना गरिएको र्‍याली बागेश्वरी मन्दिर पार्कबाट सुरु भई सुतेविक चोक, पुष्पलाल चोक, विरेन्द्र चोक, विपी चोक, गणेशमान चोक, चारबाहिनी, भेरी अस्पताल चोक, त्रिभूवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै विरेन्द्र चोकमा पुगेर समापन हुने केन्द्रीय सदस्य देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार ०७:५४