सूचनाको शक्ति - The Power Of Information

        

लैंङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

टेलिभिजनको कार्यालयमै महिलामाथि दुर्व्यवहार !

बाँके । लैंङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरेहकै बेला नेपालगन्जस्थित एक टेलिभिजनकै कार्यालयमा माहिलामाथि दुर्व्यवहार भएको छ । टेलिभिजनमा बजार प्रतिनिधिका रुपमा कार्यरत महिलाले केही समयअघि काम छाडिसकेको र आफ्नो पारिश्रमिक लैजानका लागि कार्यालयमा बोलाइएकी उनीमाथि उक्त टेलिभिजनका प्रमूखले दुर्व्यवहार गरेको बताइएको छ ।

‘बिहीबार साँझ प्रमूखले फोन गर्नुभयो, साँझ अबेर भइसकेकाले आउन नसक्ने जानकारी गराउँदा उहाँले अहिले नै आउनुस् भनेपछि म साथीलाई लिएर टेलिभिजनको कार्यालयमा पुग्दा उहाँले मलाई तथानाम गालीगलौच गरेर हातपात गर्न खोज्नुभयो,’ ती महिलाले भनिन्, ‘साथीलाई लिएर नगएको भए ममाथि दुर्व्यवहार हुने थियो । साथी सँथै भएकाले म जोगिए ।’

पीडित महिलाका अनुसार टेलिभिजनमा काम गरेको पारिश्रमिकबापतको ६ हजार रुपैयाँ लिन बाँकी रहेको हिसाब देखिएको थियो । ‘टेलिभिजनबाट साँझ ५ बजे फोन आयो, मैले साँझ परिसक्यो, भोली आउँछु भन्दा उहाँले अहिले नै आउन भनेपछि म गएँ, कार्यालयमा पुगिसकेपछि उहाँले उठाउनुपर्ने रकम बुझाएर आफ्नो पारिश्रमिक लैजान भन्नुभयो,’ ती महिलाले भनिन् ।

पीडित महिलाले केही समय काम गरेर चित्त नबुझेर काम छाडेकी थिइन् । ‘उहाँले नियतबस मलाई साँझ बोलाउनु भएको रहेछ, मैले त्यस्तो सोचेको पनि थिइन,’ उनले घटना विवरण सुनाउँदै भनिन्, ‘यहि कुरा भन्नलाई फोनमै भने पनि हुन्थ्यो, किन साँझ बोलाउनु भयो ? भन्दा उहाँले मलाई तथानाम गाली, गलौच गरेर हातपात गर्न खोज्नुभयो ।

जानकारी अनुसार, उक्त टेलिभिजनमा बजार प्रतिनिधिको रुपमा काम गर्ने उनलाई आफ्नो पारिश्रमिक बुझ्न उक्त मिडिया हाउसका प्रमुखले फोन गरेर बिहिवार साँझ बोलाएका थिए । उनले भनिन्, ‘मेरो ईज्जतमाथि प्रश्न चिन्ह खडा भएको छ, म प्रहरीमा उजुरी गर्छु । यसबारे उक्त मिडिया हाउस प्रमुखसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।’

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १३:२२