सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

होम आइसोलेसनमा बसेकालाई टिस्यु पेपरदेखि अक्सोमिटरसम्म सरकारले दिने

आइसोलेसनमा बसेकाले मेडिकल मास्क ८४ वटा पाउने

काठमाडौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले टिस्यु पेपरदेखि अक्सोमिटरसम्म वितरण गर्न योजना अघि सारेको छ । मृत्यु हुने संक्रमितहरुमध्ये होम आइसोलेसनमा बसेका बढी भएपछि सरकारले किट वितरण गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको होम आइसोलेसनमा बस्ने संक्रमितलाई आइसोलेसन किट उपलब्ध गराउनेसम्बन्धी मार्गनिर्देशनअनुसार संक्रमितलाई १४ दिनलाई पुग्ने स्वास्थ्य सामग्री प्रदान गर्न लागेको हो ।

मन्त्रालयले विकास साझेदारहरुको सहकार्यमा केही पालिकामा हेल्थ आइसोलेसन किट वितरण गरेकामा नतिजा राम्रो पाइएको भन्दै उच्च जोखिम समूहलाई सबै पालिकामार्फत वितरण गर्ने नीति लिएको हो ।

निर्देशिकाअनुसार होम आइसोलेसनमा बसेकाले मेडिकल मास्क ८४ वटा पाउनेछन् । संक्रमितलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा दैनिक तीनवटाका दरले ४२ वटा र संक्रमित हेरचाह गर्ने व्यक्तिलाई ४२ वटा मास्क दिन लागिएको हो ।

त्यस्तै स्यानिटाइजर २ सय ५० एमएलको एक बोतल, थर्मोमिटर र ब्याट्री एक सेट, पल्स अक्सोमिटर र ब्याट्री पनि दिन लागिएको छ ।

थर्मोमिटर र अक्सोमिटर भने संक्रमित निको भैसकेपछि सफा गरेर स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई फिर्ता दिनुपर्नेछ ।

प्यासिटामोल ४२ चक्की, टिस्यू पेपर एक बट्टा, पन्जा एक प्याकेटसमेत पाउनेछन् ।kantipur

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०८:०४