सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

सरकारी सेवामा अयोग्य कर्मचारीलाई सिम्ता गाउँपालिकामा सुटुक्क नियुक्ति

सुर्खेत । सरकारी सेवाका लागि अयोग्य कर्मचारीलाई करार नियुक्ति गरिएको छ । सुर्खेतको सिम्ता गाउँपालिकाले खुल्ला विज्ञापन नै नगरी आन्तरिक तवरबाट कर्मचारी नियुक्ति गरेको हो । कर्मचारी नियुक्तिका लागि खुल्ला विज्ञापन गर्नुपर्ने भए पनि निकटका मान्छेलाई करारमा सुटुक्क नियुक्ति दिएको स्थानीयको आरोप छ ।

कर्मचारी राख्ने विषयमा कार्यपालिका विवाद हुदाँहुदै पनि गाँउपालिकाले तीन जनालाई विना प्रतिश्पर्धा ठाडो निवेदनको भरमा नियुक्ति दिएपछि गाउँपालिकामा विवाद बढ्दै गएको छ । गाँउपलिकाले तिलक नेपालीलाई खरिदार सरह, दलबहादुर नेपालीलाई गाडी चालक र धीरेन्द्र अधिकारीलाई कार्यालय सहयोगीमा नियुक्त गरिएको हो ।

तिलक नेपालीकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमिताको मुद्दा विचाराधीन छ । उनको उमेर पनि ४५ वर्ष नाघिसकेको छ । जुन सरकारी सेवाका लागि उमेर हदका कारण अयोग्य ठहरिन्छ । उनी गाँउपालिकाको वडा नं ८ मा मुखिया पदमा कार्यरत रहँदा तीन लाख रकम दुरुपयोग गरेको मुद्दा अख्तियारमा छ । रकम दुरुपयोग गरेको भन्दै नेपालीलाई वडा कार्यालयबाट बर्खास्त गरिएको थियो ।

दलबहादुरको करार केही समयअघि नै सकिएको थियो । फेरि उनलाई ठाडो निवेदनको भरमा पुनः गाडी चालक पदमा नियुक्ति दिइएको पाइएको छ । स्थानीय तह रिक्त पदको पदपूर्ति सम्बन्धी विनियमले कुनै पनि कर्मचारी छनोट गर्दा पत्रपत्रिकामा सूचना प्रकाशित गरी दर्खास्त आह्वान गर्नुपर्ने व्यवस्था छ । तर गाँउपालालिकाले नियम लत्याउँदै आफ्ना मान्छे भन्दै नियुक्ति दिएपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।

स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन कार्यविधिमा पनि कुनैपनि कर्मचारी करारमा नियुक्ति दिदाँ त्यसको योग्यता, पारिश्रमिक, सेवा शर्त समेत तोकी सम्बन्धित कार्यालयको सूचनापाटी, वेभसाइट तथा अन्य कुनै सार्वजनिक स्थलमा कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्नुपर्नेछ हुन्छ । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका व्यक्तिलाई गाँउपालिकाका निमित्त कार्यकारी प्रमुख टोपबहादुर रानाले नियुक्ति दिएका हुन् ।

गाँउपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने आवश्यकताको आधारमा ज्यालादारीमा कर्मचारी छनोट गरिएको बताए । उनले गाँउपालिकाको क्षेत्राधिकारभित्र ज्यादारीमा कमर्चारी छनोट गर्दा सूचना प्रकाशन गर्नुपर्ने नियम नभएको जिकिर गरे । अध्यक्ष केसीले तिलक नेपालीलाई अख्तियारमा मुद्दा परेको तर अहिले सफाई पाइसकेपछि नियुक्ति दिइएको दावी गरे । पहिलेदेखि नै वडामा काम गरेकाले नेपालीलाई नियुक्ति दिइएको उनको भनाइ छ । कर्मचारीका लागि विज्ञापन आह्वान भने नगरिएको अध्यक्ष केसीले स्वीकार गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०७:४९