बाँके । जानकी गाउँपालिका स्तरीय किशोर किशोरीका लागि सञ्चालित जीवन उपयोगी दुई दिने सञ्चार सीप तालिम बुधबार समापन गरिएको छ । कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै भौतिक दुरी कायमसहित १३ जना कशोरीलाई सञ्चार सीप तालिम दिइएको थियो ।
प्लान इन्टरनेशनल क्षेत्रीय कार्यालय सुर्खेतको साझेदारीमा सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेले बालबिवाह रोकथाम परियोजना अन्तरगत उज्जवल भविष्यको छनोट तथा परिवर्तन सम्वाहक माध्यमबाट किशोर किशोरीहरुका लागि जीवन उपयोगी सीप सम्बन्धी सञ्चार सीप दिएको हो ।
‘बालविवाहलाई नाई भनौं’ भन्ने मूल नाराका साथ सञ्चालित तालिममा सञ्चार सीपका विविध पक्षका साथैका किशोरीले सार्वजनिक गर्न सक्ने सूचना र सवाल लगायतका विषयमा सजीकरण गरिएको थियो । सञ्चार सीपको सहजीकरण पत्रकार शुक्रऋषि चौलागाईले गरेका थिए ।
यस्तै बालविवाह रोकथाम परियोजना अन्तरगत साइबर कानुन तथा सामाजिक सञ्जालमार्फत लेख प्रकाशन सम्बन्धि दुई दिने प्राविधिक तालिम पनि सम्पन्न भएको छ । बालविवाह सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको तालिममा गाउँपालिकाभित्रका १२ जना किशोरकिशोरीको सहभागिता रहेको थियो ।
सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेको आयोजना र प्लान इन्टरनेशनल क्षेत्रीय कार्यालय सुर्खेतको साझेदारी तथा सिर्जनशिल किशोरी क्लवको संयोजनमा जानकी गाउँपालिकमा तालिम गरिएको हो । तालिमको सहजीकरण तिलक गाहामगरले गरेका थिए । भने व्यवस्थापन स्याकका फिल्ड सुपरभाइजरद्वय अकलीम खान र अर्मीला रोकायाले गरेका थिए ।
सत्यपाटी ।