सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य चौकीमा छैन औषधि

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका ७, थिर्पुमा रहेको स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छाडेकाले औषधि अभाव भएको स्वास्थ्य चौकीका प्रमुख कमल बमले जानकारी दिए । ‘गाउँपालिकाले २० लाख रुपैयाँ बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु । यहाँ आइपुगेको छैन,’ उनले भने, ‘सरकारले निःशुल्क दिने भनेको औषधि पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ ।’

मौसम परिवर्तन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्य चौकीका प्रमुख बमले जानकारी दिए । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्वास्थ्य चौकीको अनुगमन गर्दा औषधि नभएको बताए । स्वास्थ्य चौकीबाट ४० प्रकारका औषधि निःशुल्क वितरण हुने सरकारको नीति रहेको छ ।

निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नुपरेको स्थानीय कालीबहादुर बमले बताए । ‘हामीले निःशुल्क पाइने सिटामोलजस्ता औषधिसमेत हामीले मेडिकलबाट किनेर खानुपर्ने बाध्यता छ ।’

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार १३:१७