सूचनाको शक्ति - The Power Of Information

        

४३ दिनपछि खुल्यो स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्राडा.राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो ।

प्रतिष्ठाको कार्यकारी परिषद् बैठक नै नराखी सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति फिर्ता लिन माग गरेको थियो । तालाबन्दी खोल्नका उपकुलपति प्राडा. वाग्लेले सम्पर्क कार्यालय काठमाडौंबाट प्रतिनिधि मण्डल खटाएर पटकपटक वार्ता गर्न निर्देशन दिएपनि तालाबन्दी खुल्न सकेको थिएन ।

पछि आफैँ केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्ता बस्न नमान्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो । अन्त्यमा आएर प्रतिष्ठानको कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोली माग गरिएको तीनवटा मूख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए ।

सहमतिमा नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा ३ सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ । त्यस्तै, प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख रहने र अन्य संकायका डीन सहायकहरू डीन रहने सहमति भएको छ ।

त्यस्तै, ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुलाई १ हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने, ‘प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पुरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बस्ने सहमति भएको छ ।’

यसका साथै अन्य मागका सम्बन्धमा कार्यकारी परिषदबाट हुबहु पारित गर्ने सहमति भएको आन्दोलनरत प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले बताए । उनले भने, ‘गत असोज २६ गते नै प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डीनमा प्रा.डा.मुनिराज क्षेत्रीलाई नियुक्त गरेका थिए । सोही नियुक्तिलाई खारेज गर्नुपर्ने हाम्रो माग थियो ।’

यस्तै, ऐनमा उल्लेख भएअनुसार प्रतिष्ठानमा कार्यरत कुनैपनि कर्मचारी बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने भन्दै कर्मचारीहरूले आन्दोलन गरेका थिए । मेडिकल डीन रेशम रानाको विषयले पनि प्रतिष्ठानका कर्मचारीभित्र तीव्र असन्तुष्टि रहेको बनाएको छ ।

मेडिकल डिनका रुपमा नियुक्त भएका रानाले एसएसबीएच परियोजनाबाट सुविधा लिनुका साथै ऐनेस्थेसिया सहायक कोर्ष कोर्डिनेटरको जिम्मेवारीमा रहेर पनि सुविधा लिएको कल्याणकारी समाजको आरोप छ । समाजका पदाधिकारीले यसरी एउटै संस्थाभित्र दोहोरोरतेहरो सुविधा लिनु गैरकानुनी भएको र त्यस्तो सुविधा लिनेलाई कारबाही हुनुपर्ने समेत माग राखेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ११:१६