सूचनाको शक्ति - The Power Of Information

        

बिहीबार र शुक्रबार ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

काठमाडौं । बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुलीले  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुका साथै बालभिटा वितरण र पाखुराको नाप पनि लिइनेछ । ​​

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल खुवाउने गरिन्छ । यस्तै १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्ने गरिएको हो ।

पराजुलीका अनुसार वर्षमा २ पटक हुने यस कार्यक्रमले २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखेको छ । यस्तै ६ लाख बालबालिकालाई बालभिटा वितरण र २४ लाख बालबालिकालाई जुकाको औषधि  खुवाउने योजना महाशाखाको छ ।

भिटामिन ‘ए’ कार्यक्रममा देशभरका  करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् ।  ६ महिनादेखि ५ वर्षउमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।

बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि वितरण थालिएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ०८:०४