सूचनाको शक्ति - The Power Of Information

        

उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा

उद्योग वाणिज्य महासङ्घको साधारणसभा आजदेखि, गोल्छा स्वतः अध्यक्ष

कोरोना संक्रमितले पनि मतदान गर्न पाउने

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि आजबाट उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरु हुँदैछ ।

गत चैतमै हुनुपर्ने साधारण सभा ८ महिनापछि आज (बिहीबार)बाट सुरु हुन लागेको हो । नयाँ नेतृत्व चयन गर्ने यो साधरण सभा तीन दिनसम्म चल्नेछ।

साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाटै जुम मिटिङबाट उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा महासंघका पदाधिकारी, महासंघ प्रदेश अध्यक्ष र पूर्वअध्यक्षहरुमात्रै सहभागी हुने र अन्य सबै अनलाइनमार्फत् सहभागी हुने भएका छन्।

उद्घाटन सत्र सकिएसँगै भोलिबाट नेतृत्व चयनको प्रक्रिया अगाडी बढ्ने छ । महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ।

समितिका अनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ। जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्।

१३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।  कोरोना संक्रमित प्रतिनिधिले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। संक्रमितका लागि प्रज्ञा भवनमा व्यवस्था गरिएको बताइएको छ।

साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघ अध्यक्ष बन्नेछन्। तर, वरिष्ठ उपाध्यक्षका लागि भने कडा भिडन्त हुने देखिएको छ। किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार  आ-आफ्ना प्यानल लिएर चुनावमा होमिएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ०७:५७