सूचनाको शक्ति - The Power Of Information

        

‘रारा भ्रमणका नाममा कहीँबाट पैंसा लिएका छैनौं’

बझाङ । संविधानसभा सदस्य अफिलाल ओखेडाले रारा भ्रमणका नाममा कहीँबाट पैंसा नलिएको बताएका छन् । बझाङ जिल्लाका जनप्रतिनिधि, अनेरास्ववियु जिल्ला संयोजक लगायत १८ जनाको टोली रारा पुगेपछि देशको ढुकुटी भ्रमणमा खर्च गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला संविधानसभा सदस्य ओखेडाले कहीँकतैबाट रकम लिएको भए कारबाही भोग्न तयार रहेकोसमेत बताएका छन् ।

उनले वास्तविकता नबुझेरै सामाजिक सञ्जालमा नलेख्न आग्रह गर्दै आफुहरुले व्यक्तिगत रुपमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ उठाएर रारा भ्रमणमा गएको पनि स्पष्ट पारेका छन् । देशको ढुकुटी रारामा खर्च, जनताको राजश्वले रारा भ्रमण बझाङका कम्युनिस्टहरु, राज्यकोषबाट भ्रमण खर्च छुट्याई समाजवादको खोजीमा रारा तालमा पुगेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि संविधानसभा सदस्य ओखेडाले समाजमा भाडभैलो फैलाउनकै लागि केही तत्वहरु लागिपरेको बताए ।

आफ्नो टोलीमा गएका जनप्रतिनिधि तथा अरु कसैले पनि राज्यको ढुकुटीबाट पैसा खर्च गरेर रारा गएको प्रमाण ल्याउन चुनौती दिँदै साथै संविधानसभा सदस्य ओखेडाले सत्यतथ्य नबुझेरै भ्रम फैलाउनेहरुलाई कारबाही गर्नुपर्ने भन्दै प्रमाणबिना सामाजिक सञ्जालमा भ्रम नर्छन सबैलाइ सचेत गराएका छन् । उनले भने, ‘सामाजिक सञ्जालमा लेखेको बिषयमा कुनै सत्यता छैन । रारा हाम्रो ब्यक्तिगत भ्रमण हो । कसैले कहीँकतैबाट पैंसा लिएका रहेछ भने जुनसुकै कारबाही भोग्न तयार छौं । भ्रामक कुरा सञ्जालमा नलेख्न आग्रह गर्दछु ।’

सामाजिक सञ्जालमा गलत नियत भएकाहरुले विना प्रमाण आफुहरुको रारा भ्रमणको विषयमा टिका टिप्पणी गरे पनि त्यस्तो भ्रममा नपर्न ओखेडाले पत्रकारहरुलाई सुझाव दिए । साथै भम्रण टोलीका सहभागीहरुले रारामा आफुहरु व्यक्तिगत खर्चमा घुम्न र आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्य रहेको बताए । उनीहरुले गलत नियत भएका मानिसले जे भने पनि सबैलाई एक पटक रारामा घुम्न प्रोत्साहन पनि गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ०७:१६