सूचनाको शक्ति - The Power Of Information

        

बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञा, प्रदर्शन जारी

महोत्तरी । बर्दिबासमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मृत्यु भएपछि बर्दिबासमा निषेधाज्ञा लागु भएको छ ।

बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको लागि बर्दिबासमा निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

बर्दिबासको पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पाटोचोसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । एक प्रदर्शनकारीको मृत्यु भएकाले सम्भावित घटनालाई रोक्न निषेधाज्ञा लगाइएको उनले बताए ।

आइतबार बेलुका हराएकी बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम बस्तीकी ६ वर्षीय बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि आक्रोशित स्थानीयले मंगलबार प्रदर्शन गरेका थिए ।

बालिकाको शवलाई मुख्य सडकमै राखेर प्रदर्शन गर्दा प्रहरीले चलाएको गोली लागि तीनजना गम्भीर घाइते भएका थिए । घाइते मध्ये दुईजनालाई काठमाडौँ पठाइएकोमा एकजनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो।

बुधबार बिहानदेखि पुनः स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् । प्रदेश सांसद शारदा थापा समेत त्यहाँ पुगेकी छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार १०:५६