सूचनाको शक्ति - The Power Of Information

        

बर्दिबास प्रदर्शनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

महोत्तरी । बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् ।

उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए ।

बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ०८:०३