काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा उत्पन्न घरझगडा पेचिलो बन्दै गएपछि प्रधानमन्त्री एवम अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बोलचाल बन्द भई शत्रुतापूर्ण व्यवहार प्रदर्शन हुन थालेको छ ।
पार्टी एकताको अढाई बर्ष वित्दानबित्दै उनीहरुबीच मनमुटाव भएको हो । उनीहरुबीच एक महिनायता पहिलेजस्तो हार्दिकता साटासाट हुन सकेको छैन । कात्तिक २२ पछि दुई नेताबीच राम्रोसँग कुरा हुन पाएको छैन ।
‘सचिबालय बैठकमा पनि विषयबस्तुमा मात्रै कुरा हुन्छ । कात्तिक २२ यता दुईपटक सचिवालय बैठक बस्यो तर दुई अध्यक्षबीच बोलचाल भएको देखिएन । बैठकमा दुई नेताबीच राम्रोसँग अनुहार हेराहेर पनि भएन,’ नेकपा स्रोतले भन्यो । उनीहरुबीच अहिले संवादको ढोका बन्द भएको स्रोतको दाबी छ ।
कार्यकारी अध्यक्ष दाहालले कार्तिक २८ गते सचिबालय बैठकमा एकल राजनीतिक प्रतिवेदन पेस गरेपछि एकअर्काबीच शत्रुको जस्तै ब्यवहार हुन थालेको ओलीनिकट एक स्थायी कमिटि सदस्यले बताए ।
‘दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा जेजे विषय उल्लेख गरिएका छन्, ती प्रतिपक्षी दलका नेताले लगाउने लाञ्छनापूर्ण आरोपका पुलिन्दा हुन’, ती सदस्यले भने, ‘व्यवहार निकै सत्रुतापूर्ण भएको छ ।
त्यसकारण अहिले दुवैजना एक ठाउँमा बस्न सक्ने अवस्था छैन ।’ नागरिक दैनिकबाट
सत्यपाटी ।