धनगढी । कैलालीका दुई पत्रकारले आर्थिक चलखेल गरी ठगी गरेका घटनाहरु बहिरिएका छन् । नाइस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश विक र नाइस टेलिभिजनमै आबद्ध गोविन्द विसीले कैलालीका विभिन्न व्यक्तिलाई डर देखाएर आर्थिक बार्गेनिङ गरेको खुलेको हो । उनीहरुले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, पैसा नभएको चेक दिने, उधारो खाएर भाग्ने, विभिन्न बहाना बनाएर ठगी गर्नेजस्ता घटना बाहिरिएका हुन् ।
लामो समय आर्थिक दैनिकमा कार्यरत पत्रकार विक विभिन्न व्यक्तिलाई डर देखाएर आर्थिक ‘बार्गेनिङ’का घटना बहिरिएपछि निष्कासन भएका थिए । यतिबेला आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटना एकपछि अर्को गर्दै बाहिरिएपछि पत्रकारिता जगतमा दाग लागेको छ । विभिन्न व्यक्तिलाई डर देखाएर पत्रकारले गरेका ‘बार्गेनिङ’ र ठगीका घटना बाहिरिनु राज्यको चौथो अंग लज्जित बनेको धनगढीका पत्रकारहरु बताउँछन् ।
घटना १
हिमेश विक र गोविन्द बिसीले कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित श्री वास्तव मेडिकल हलका सञ्चालकबाट एक लाख असुल्न पटकपटक धम्की दिएको अडियो सार्वजनिक भएको छ । उनीहरुले मेडिकल सञ्चालक कमलेश ससेनाकी श्रीमती लीला सुनारलाई डराईधम्काई २५ हजार असुली गरी र थप ७५ दिनुपर्ने भन्दै टेलिफोनमा धम्काएपछि उक्त घटना बाहिरिएको हो ।
उनीहरुले सुरुमा दुई लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेका र पछि एक लाख दिनुपर्ने भन्दै मेडिकल सञ्चालकलाई धम्की दिएका सञ्चालक कमलेश ससेनाले बताए । उनले भने, ‘श्रीमती लीला सुनारबाट तपाईलाई आवश्यक समस्या परे सहयोग गर्ने भन्दै रकम असुल गरे, थप पैसा माग्न अझै पटकपटक टर्चर गरिरहेका छन् ।’
घटना २
अत्तरियाका एक व्यापारीसँग फर्निचर लिएर हिमेश विकले पैसा नभएको चेक दिएको अर्को घटना बाहिरिएको छ । उनले दिएको चेकमा पैसा नभएको र त्यसपछि अहिलेसम्म सम्पर्कमा नआएको पीडितले गुनासो गरेका छन् । यस्तै अत्तरियामै रहेको श्री लाटाकाफली आधुनिक फर्निचरलाई पनि सानिमा बैंकको चेक दिएको अहिलेसम्म पैसा नपाएको सञ्चालकले गुनासो गरेका छन् । उनले तुलसीदेवी रावलका नाममा चेक दिएका थिए ।
घटना ३
हिमेश विकले कैलालीका दुई जना उपमेयरलाई टेलिभिजनमा अन्तर्वार्ता गराउने भन्दै काठमाडौं लगेर होटलमा राखेर पैसा नतिरेरै भागेको घटना सार्वजनिक भएको छ । ती उपमेयरहरुलाई काठमाडौं घुमाउन उनले आठ दिनसम्म प्रयोग गरेको ट्याक्सी भाडासमेत नतिरेको खुल्नमा आएको छ । विकले दैनिक पाँच हजारको दरले ट्याक्सी चढेको चालक गोकर्ण प्रसाद घिमरेले आइतबारको सीधा कुरा जनता कार्यक्रममा आएर गुनासो गरेका थिए । उनले आठ दिनको ४० हजार र २१ हजार नगद ट्याक्सी चालकसँग सापटी लिएको रकम लिएर लामो समयदेखि सम्पर्कविहीन बनेको भन्दै उनले कार्यक्रमै गुनासो गरेका थिए ।
घटना ४
हिमेश विकले धनगढीका स्टेसनरी सञ्चालक तथा पत्रकार डिल्ली ओझाको २० हजार बढी रकम लामोसम्म नदिएपछि उनका बुवाबाट असुल गरेको बताएका छन् । उनले धनगढी काठमाडौं र काटमाडौं–धनगढी प्लेन भाडा दुई वर्षदेखि नदिएको अझै केही रकम दिन बाँकी रहेको बताएका छन् । विक र विसीले कैलाली लगायत विभिन्न ठाउँमा पत्रकारको परिचय दिएर ठगी र ‘बार्गेनिङ’ गर्ने सञ्जाल बनाएका छन् । उनीहरुले रकम नभएको चेक दिने, उधारो खाने, समाचार प्रकाशन गरिदिने भन्दै रकम बार्गेनिङ गर्ने, विभिन्न बाहना बनाएर ठगी गरेर हिँड्दै गरेका घटना बाहिरिँदै गएका छन् ।
सत्यपाटी ।