सूचनाको शक्ति - The Power Of Information

        

प्युठानका ७८ वर्षीय कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

फाइल तस्वीर

बाँके । प्युठानबाट उपचारका लागि बाँके ल्याइएका एक ७८ वर्षीय कोरोना संक्रमित पुरुषको नेपालगन्जमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ । नौबाहिनी गाउँपालिका–६, प्युठानका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मंगलबार बिहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई कात्तिक २७ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुर्याइएको थियो । कोरोनाको आशंकामा कात्तिक ३० गते स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको र मंसिर १ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको कुरुम्वांगले बताए ।

त्यसपछि उनलाई उपचारका लागि मंसिर २ गते साँझ ६ बजे भेरी अस्पतालमा भर्ना गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी प्रेस नोटमा जनाइएको छ । भेरी अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, एन्टिबायोटिक्स, सिप्याप, रेमडिसिभर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि मंगलबार बिहान ९ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४७ पुगेको छ । यसैगरि बाँके जिल्लाका ३९ जना कोरोना संक्रमितको पनि मृत्यु भैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ११:५३