सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक नियम

बैठकमा उपस्थित नभए एक लाख जरिवाना !

हुम्ला । गाउँघरका बैठक बेवास्ता गर्ने, आलटाल गर्ने परम्परा समाजमा रहे पनि हुम्लाको एक गाउँमा भने स्थानीय बैठकमा उपस्थित नभए एक लाख रुपैयाँसम्म जरिवाना तिनुपर्ने सामाजिक नियम कायमै छ । जिल्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा वर्ष दिनमा एकपटक हुने बैठकमा अनुपस्थित हुने घरधुरीले समाजकै मान्यता अनुसार यस्तो जरिवाना तिर्नुपर्ने परम्परा रहेको हो ।

ऐनभन्दा खोलाको चैन ठूलो मान्ने लिमी गाउँमा कात्तिकदेखि मङ्सिरमा सञ्चालन हुने बैठकमा उपस्थित हुन नसक्ने सदस्यले हैसियत अनुसार एक हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्ने गाउँको चलन रहेको लिमीका पूर्व वडा सचिव धर्मराज रोकायाले जानकारी दिए । गाउँको यो चलनलाई कसैले पनि प्रश्न उठाएका छैनन् । बैठक बस्ने मिति, समय र स्थान पहिल्यै तोकिएको हुन्छ ।

बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने गाउँको चलन छ तर कुनै कारणवश बैठकमा उपस्थित हुन नसके जरिवाना तिर्नैपर्ने सामाजिक मान्यता रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । यो मान्यता कुनै घरधुरीले अस्वीकार गर्न नपाइने उनले बताए । बैठकका लागि तोकिएको जरिवाना गाउँको कोषमा जम्मा गरिन्छ । बैठकमा उपस्थित हुन नसक्ने सदस्यले समाजले तोकेको जरिवाना तिर्नुपर्ने उनले बताए ।

अरू महिना काम गर्न बाहिर जता बसे पनि बैठक बस्ने महिना र दिन लिमी पुग्नैपर्ने बाध्यतात्मक व्यवस्था गरिएको छ । काठमाडौँं, दिल्ली वा अमेरिका जता भए पनि गाउँको उक्त बैठकमा सहभागिता जनाउन सदस्य आउनै पर्छ । सोह्र वर्ष उमेर कटेका र ६० वर्ष ननाघेका घरमूलीले मात्र उक्त बैठकमा बस्न पाउने व्यवस्था गरिएको छ । उक्त बैठकको अध्यक्षता निर्वाचित वडाध्यक्षले गर्न पाउँदैनन् ।

यसका लागि गाउँवासी मिलेर अध्यक्ष चयन गरिन्छ । यतिखेर गाउँलेले छनोट गरेका अध्यक्ष छिरिङतुन्डुप तामाङ हुन् । केही दिनअघि सम्पन्न गाउँको बैठक उनकै अध्यक्षतामा बसेको थियो । वडाध्यक्ष पाल्जोर तामाङ घरमूलीका रूपमा बैठकमा उपस्थित थिए । उक्त बैठकले गरेका निर्णयभन्दा माथि कोही जान सक्दैनन् ।

बैठकले एक वर्षका लागि गाउँलाई आवश्यक पर्ने नीतिनियम, सामाजिक संस्कार, मनोरञ्जन कार्य सबै तय गर्ने स्थानीय परम्परा छ । लिमीको यो नियमकै कारण सामाजिक बन्धनमा बाँधिनुपर्ने बाध्यता भएको अध्यक्ष तामाङले बताए । त्यही भएर संस्कार, परम्परा र बारबन्देजका बारेमा सिक्न लिमी जानुपर्छ भन्ने भनाइ हुम्लामा अझैसम्म पनि चलनचल्तीमा छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ११:०७