सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिक आडमा कर्मचारी भर्ना

बझाङ । जयपृथ्वी नगरपालिकामा राजनीतिक आडमा कर्मचारी भर्ना गरेको आरोप लागेको छ । गरिबी निवारण अन्तरगत लघुउद्यम विकास कार्यक्रमका लागि कर्मचारी आह्वानको छनोटमा राजनीतिक चलखेल भएको उद्यम विकास सहजकर्ता संघले आरोप लगाएको छ ।

जयपृथ्वी नगरपालिका अन्तरगत मेडपा कार्यक्रमले उद्यम विकास सहजकर्ताको लागि दुई जनाको कोटा खुलाएर नगरपालिकाबाट सूचना आवहान गरेको भए पनि सर्टलिस्ट गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा नगरेर राजनीतिक आडमा आफन्तलाई भर्ना गरेको आरोप छ ।

सर्टलिष्ट भैसकेपछि मौखिकमा स्थानियले सबैभन्दा राम्रो गरेको भए पनि उनीहरुलाई छनौट नगरेर राजनीतिक आडमा कर्मचारी भर्ना गरेको गुनासो छ । प्रकृयामात्रै पुरा गरेर मौखिक परिक्षा लिइयो, मौखिक परीक्षामा सबैभन्दा राम्रो नम्बर ल्याउनेलाई भर्ना नगरेर आफन्तलाई भर्ना गरेको मौखिक परिक्षामा बसेका एक जनाले नाम नखुलाउने सर्तमा बताए ।

साथै उद्यम विकास सहजकर्ता संघले लेभल–२ (चौथो तह)का लागि नगरपालिकाले कर्मचारी आवश्यकताको सूचना जारि गरे पनि लेभल–३ (पाँचौ तह)ले कागजात पेस गर्दा पनि छनौटमा नपरेकोले कुन आधारमा सर्टलिष्ट र नतिजा प्रकाशित गरेको हो नगरपालिकाले जवाफ दिनुपर्ने उद्यम विकास सहजकर्ता संघका सचिव प्रदिप खड्काले बताए ।

सचिव खड्काले कर्मचारी छनोटमा निष्पक्ष नभएकोले पुनः निश्पक्षरुपमा कर्मचारी छनौट गर्नुपर्ने बताए । यता जयपृथ्वी नगरपालिका मेयर विरेन्द्रबहादुर खड्काले कर्मचारी छनौटमा राजीनित पूर्वाग्रह नभएको बताउँदै विधि प्रकिृया अनुसार नै छनौट समिति गठन गरेर प्रतिश्पर्धाका आधारमा कर्मचारी भर्ना गरेको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ०९:५८