काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तारण प्रकिया सुरू गर्ने तयारी गरेको छ । अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडेनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै सत्ता हस्तान्तरण सुरु हुनसक्ने ट्रम्पले बताएका छन् ।
त्यसका निम्ति सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए)लाई ‘गर्नुपर्ने आवश्यक कामका लागि’ सिफारिस गरिएको ट्रम्पले ट्वीटरमार्फत जानकारी दिएका छन् । यद्यपि चुनावको परिणामविरुद्ध आफ्नो कानूनी लडाइँ भने जारी रहने ट्रम्पको भनाइ छ । जीएसएले पनि बाइडेनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि अन्तरिम कालको काम थालेका थिए । बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिमक प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको थिएन ।
ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको बताएकी छन् । बाइडेनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरूसँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने वक्तव्यमार्फत् जनाएको छ ।
सत्यपाटी ।