सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा

कक्षा १२ को परीक्षा आजदेखि, कोरोना संक्रमित पनि सहभागी हुन पाउने

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि सञ्चालन हुँदैछ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार अहिले बिहान ८ बजे सुरु हुने परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि देशभर ४ हजार १०५ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

परीक्षामा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीलाई आग्रह गरेका छन् । राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थी धेरै रहेका परीक्षा केन्द्रलाई स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन निर्देशन दिएको छ ।

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षा दिन सक्ने विद्यार्थीका लागि भने छुट्टै ठाउँको व्यवस्था गरिएको छ । सैद्धान्तिकतर्फ कूल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो ।

परीक्षा बोर्डका अनुसार ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा दिइनेछ । गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो । परीक्षा आउने १६ गते सकिनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ०७:३२