बाँके । बाँकेका अधिकांश व्यवसायीक प्रतिष्ठान स्रेस्ताविहीन रहेको पाइएको छ । जिल्लामा रहेका २० हजार व्यवसायीक प्रतिष्ठानमध्ये ६० प्रतिशत प्रतिष्ठानले लेखास्रेस्ता नराख्ने गरेको पाइएको छ । यहाँ रहेका थोरैले मात्र लेखा स्रेस्ता राख्ने गरेका छन् ।
केन्द्रीय तथ्यांक विभागका अनुसार बाँकेमा ६५ प्रतिशत अर्थात् झण्डै १२ हजार प्रतिष्ठानले लेखास्रेस्ता राखेको भेटिएन । जम्मा ३५ प्रतिशत अर्थात ८ हजार प्रतिष्ठानले मात्रै लेखास्रेस्ता राखेको भेटिएको थियो । जिल्लामा रहेका उत्पादनमूलक उद्योग, बैंक तथा वित्तिय जस्ता क्षेत्रमा लेखा स्रेस्ता भए पनि अन्यमा भने त्यस्तो नपाइएको तथ्यांक विभागले जनाएको छ ।
नेपाल उद्योग वाणिन्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले निजी क्षेत्रले परम्परागत प्रणालीबाट फड्को मार्ने क्रममा रहेकाले सबैले लेखास्रेस्ता राख्न नसकेको बताए । विभागका अनुसार बाँकेमा रहेकामध्ये ४० प्रतिशत अर्थात् ८ हजार व्यावसायीक प्रतिष्ठानले कारोवारका लागि बैंक तथा वित्तिय क्षेत्रवाट ऋण लिएको उल्लेख छ ।
ऋण लिने व्यावसायिक प्रतिष्ठानमा पनि ३ हजार ९३० प्रतिष्ठानले बैंक, फाइनान्स, लद्युवित्तबाट र ४ हजार ७० वटा प्रतिष्ठानले सहकारी र व्यक्तिगत रुपमा ऋण लिएका छन् । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य श्रेष्ठले उद्योग, व्यवसाय ऋणकै माध्यमबाट चलेकाले बैंक तथा वित्तिय क्षेत्रले सहुलियत प्रदान गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘यतिका ठुलो संख्याका व्यावसायिक फर्म ऋणबाट चलेका छन् । उनीहरुलाई प्रोत्साहन गर्न ब्याजदर लगायतका विषयमा सहुलियत प्रदान गर्नुपर्छ ।’ जिल्लामा रहेका व्यवसायीक प्रतिष्ठानमध्ये सबैभन्दा धेरै थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाइकल मर्मतका ११ हजार १९२ अर्थात कुल प्रतिष्ठानमा ६० प्रतिशत रहेको छ ।
उत्पादन क्षेत्रमा जम्मा २ हजार ५५१ अर्थात १३ प्रतिशत मात्र रहेको छ । अनुत्पादक क्षेत्रका प्रतिष्ठान बाँकेमा धेरै देखिएका छन् । बैंक तथा वित्तिय क्षेत्रको संख्या २२१ वटा रहेको छ । बाँकेमा १८ हजार ६६६ साना तथा ठुला उद्योगमा ४८ हजार ३३३ पुरुष र २० हजार महिलाले गरी ६८ हजार ३३३ जनाले रोजगारी पाएका छन् ।
बाँकेमा पछिल्लो समय साना तथा ठूला उद्योग, कलकारखाना खुल्ने क्रम बढेको छ । उद्योग तथा कलकारखाना खुल्ने क्रम बढेपछि जसले गर्दा रोजगारीका अवसर पनि थपिँदै गएका छन् । तथ्यांक अनुसार आर्थिक कारोबारमा क्रमशः महिलाको नेतृत्व बढ्दै गएको छ भने ३० देखि ४० वर्ष उमेर समूहका व्यक्तिले सबैभन्दा धेरै उद्योग चलाएका छन् ।
सत्यपाटी ।