सूचनाको शक्ति - The Power Of Information

        

सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, आइतबार झण्डै ७ अर्बको कारोबार

काठमाडौं । आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ ।

आइतबार बजार बन्दहुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ ।

बजारमा २ सय १ कम्पनीको ६३ हजार ५ सय ७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिदविक्री भएको छ ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ ।

दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ ।

कारोबारमा आएका समूह मध्ये बैंकिङ, विकास बैंक र अन्य समूह बाहेकका सबै समूहका सूचकहरु घटेका छन् ।

यसअघिका दिनहरुमा व्यापार, बीमा, उत्पादन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरु ती क्षेत्रको शेयर विक्री गरी बैंक तर्फ आकर्षित भएको देखिन्छ ।

त्यसैले अन्य समूहमा दवाव भइरहदा पनि बैंकिङ समूह २९ अंक अर्थात् २ दशमलव २३ प्रतिशतले बढेको छ ।

विकास बैंक शुन्य दशमलव ६४ प्रतिशत र अन्य समूह शुन्य दशमलव १ प्रतिशत बढेको छ ।

लगानीकर्ताहरु तुलनात्मक रुपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका शेयर खरिद गर्न झुम्मिएको देखिन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतवार १६:४५