सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

सरकारी कार्यालयका ‘गुनासो पेटिका’ प्रयोगविहीन, उजुरी शुन्य

बाँके । सरकारले व्यवस्था गरेको ‘गुनासो पेटिका’ प्रयोगविहीन भएका छन् । प्रायजसो सबै सरकारी कार्यालयहरुमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिएका पेटिका प्रयोगविहीनजस्तै भएका हुन् । केही वर्ष पहिलेसम्म सुझाब तथा गुनासो पेटिकामा गुनासोहरु भरिएका पत्र भेटिने गरेकोमा पछिल्लो समय सुझाव पेटिका खोले पनि केहि नहुँदा पेटिकासमेत खोल्न छाडिएका छ ।

कतिपय सरकारी कार्यालयमा राखिएका ति पेटिकाहरु वर्षौसम्म पनि खोलेको पाइँदैन । कति पेटिकामा माकुराको जालो र बारुलाका ‘घर’लगाएको भेटिने गरेको छ । सरकारी कार्यालयका अधिकारीसम्म प्रत्यक्ष सम्बन्ध तथा पहुँच नभएका सर्वसाधारणलाई कार्यालय तथा अधिकारीसंग सम्बन्धित गुनासो, समस्या, सुझाब सजिलो तरिकाले राख्नका लागि ब्यवस्थापन गरिएका यस्ता पेटिका अहिले आएर प्रयोगविहीन बन्दै गएका हुन् ।

नागरिकको बढि चाप र प्रशासनिक काम हुने जिल्ला प्रशासन कार्यालयको नयाँ बनेको भवनमा पनि पुरानो शैलीबाट उजुरी लिने सुझाव पेटिका राखिएको छ । तर, त्यहाँ सुझाव तथा गुनासो आएको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले भने, ‘सेवाग्राहीहरुको कार्यालय र कुनै कर्मचारीसँग सम्बन्धित गुनासो भए सिँधै प्रजिअ तथा सहायक प्रजिअ कहाँ आउने भएकाले होला, पेटिकामा गुनासो दिन छाडिएको छ ।’

सूचना प्रविधीको प्रयोग हुन थालेकाले पनि गुनासो तथा सुझाव पेटिकामा गुनासो आउन छाडेको हुनसक्ने प्रजिअ कुरुम्बाङ्गको भनाई छ । सरकारी कार्यालयहरुमा कार्यालयको कामकारवाही, कर्मचारीको व्यवहार, भ्रष्टाचार, ढिलासुस्ती लगायतको विषयमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहजताको लागि गुनासो पेटिका राखिएको हो ।

जिल्लामा सबैभन्दा बढी सेवाग्राही हुने र कामको ढिलासुस्तीको बहानामा ‘नजराना’ लिने गरिएको गुनासो आउने मालपोत तथा भुमिसुधार कार्यालयको पेटिकासमेत खाली छ । ‘कसैले कुनै गुनासो तथा समस्या भए सिधै कार्यालय प्रमुखसँग पुगेर गुनासो पुर्याइने गरिएको छ,’ मालपोत तथा भुमिसुधार कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले भने, ‘अब त सामाजिक सञ्जालमार्फत गुनासो पोख्ने र बिरोध गर्ने प्रचलन आइसकेको छ ।’

जिल्ला प्रशासन कार्यालयमात्रै होइन नागरिकको चाप बढि हुने मालपोत, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतमा कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको सम्बन्धित कार्यालयका अधिकारीहरु बताउँछन् । कति कार्यालयहरुमा पेटिका राखेपछि एक पटक पनि खोलिएको पाइँदैन । कसैले हालेको थाहा पाए खोल्ने गरिएको भए पनि गुनासो तथा सुझाव आउन छाडेपछि पेटिका खोल्नै छाडिएको छ ।

‘खोल्न छाडेपछि धेरै कार्यालयमा राखिएका पेटिकाको चाबीसमेत कहाँ छ, कार्यालयका कर्मचारी थाहा नै हुँदैन,’ एक सरकारी कार्यालय प्रमुखले भने । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी राजन केसीले कार्यालयको पेटिकामा गत आर्थिक वर्षमा एउटा मात्र गुनासो प्राप्त भएको जानकारी दिए । पछिल्लो समय नागरिकमा सचेतना बढेको र कर्मचारीसम्म पहुँच बढेकाले गुनासो तथा सुझावहरु पेटिकामा पर्न छाडेको केसीले बताए ।

सरकारी कार्यालयहरुले नागरिक बडापत्र तथा अन्य सबै प्रगति विवरण वेवसाइटमा राख्ने गरेका छन् । कार्यालय प्रमुखलाई भेटेर वा फोन गरेर गुनासो र उजुरी गर्ने हुँदा पनि उजुरी पेटिकाको प्रयोग हराउँदै गएको सम्बद्ध अधिकारीको भनाई छ । बागेश्वरी असल शासन क्लबका कार्यकारी निर्देशक नमस्कार शाहले सरकारी कार्यालयमा राखिएका पेटिकामा सुझाव वा गुनासो हाल्दा सुनुवाइ नहुने भएकाले उपयोगविहीन भएको बताए ।

गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्षसमेत रहेका शाहले भने, ‘यसको प्रभावकारिताका विषयमा जानकारी गराउन नसक्दा र कार्यालयहरुले उचित प्रयोग गर्न नसक्दा पेटिकाको महत्व घट्दै गएको देखिन्छ ।’ गुनासो तथा सुझाब पेटिका राखिनु राम्रो प्रावधान भए पनि सेवाग्राहीलाई त्यसको महत्वका बारेमा जानकारी गराउन नसक्दा पेटिका प्रयोगविहीन बन्दै गएको उनको भनाई छ ।

सरकारी कार्यालयमा राखिएका गुनासो तथा सुझाब पेटिकाको प्रयोग नहुनु र नागरिकहरुले पेटिकाप्रति विश्वास गर्न छोड्नुको कारण र त्यसको महत्वका बारेमा आमनागरिकलाई जानकारी गराउन र प्रयागमा ल्याउन सार्वजनिक निकायको ध्यान जान जरुरी रहेको शाहले बताए । सुनुवाईको भरपर्दो र प्रभावकारी वैकल्पिक संयन्त्र तयार नभएसम्म पेटिकाको प्रभावकारिताबारे आम नागरिकलाई जानकारी दिनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार १४:४७