सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाको विस्कन्सिनमा सपिङ मलमा गोलीबारी, ८ जना घाइते

काठमाडौं। अमेरिकाको विस्कन्सिनमा एक सपिङ मलमा भएको धन्धाधुन्ध गोलीबारीमा ८ जना घाइते भएका छन् ।

विस्कन्सिनको वाउवातोसामा रहेको मेफेयर मलमा शुक्रबार दिउँसो करिब ३ बजेतिर गोलीबारी भएको थियो । घाइतेहरु ७ जना वयस्क र १ जना किशोर भएको वाउवातोसा पुलिस प्रमुख बेरी वेबरलाई उद्धृत गर्दै एबीसी न्यूजले जनाएको छ ।

घाइतेहरुलाई अस्पताल लगिएको र उनीहरुलाई लागेको चोटको प्रकृतिबारे कुनै जानकारी नआएको समाचारमा जनाइएको छ । प्रत्यक्षदर्शीले करिब दर्जन गोली प्रहार भएको बताएका छन् ।

घटनास्थलमा सुरक्षाकर्मी पुग्दा बन्दूकधारी भने फरार भइसकेका थिए । वाउवातोसा पुलिसले एक ट्वीटमा यस घटनाबारे सक्रिय रुपमा अनुसन्धान भइरहेको बताएको छ ।

मल अहिले बन्द गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार बन्दूकधारी करिब २० देखि ३० वर्ष उमेरका श्वेत पुरुष थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार १०:१३