सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ का ३३ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुक्रबार बेलुका मृत्यु भएपछि कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले धेरै प्रयास गर्दा पनि उहाँलाई बचाउन नसकिएकाे बताए ।  कँडेलले भने, ‘मृतक ज्वरोका कारणले पाँच दिनदेखि स्थानीय मेडिकलमा उपचाररत रहेकोमा अन्तिम अवस्थामा प्रदेश अस्पतालमा भर्ना हुनुभएकाे थियो ।’

कर्णालीमा हालसम्म सुर्खेतका १०, दैलेखका ४, अन्य प्रदेशका २, डोल्पा, कालिकोट र रुकुमपश्चिमका १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या ६५७१ पुगेको छ । त्यसमध्ये ६०१५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०८:४४