सूचनाको शक्ति - The Power Of Information

        

अन्तरिक्षबाट खसेको पिण्डले एकाएक दिलायो २२ करोड

एजेन्सी । इन्डोनेसियाको कोलाङ सहरका जोशुआ हुटागालुङ ‘कफिन’ (शव राख्ने बाकस) बनाउने काम गर्छन् । केही दिनअघि जोेशुआको घरको छतको कुनो ठूलो आवाजसहित भत्कियोे । त्यसको केही बेरपछि उनले आँगनमा पनि खाल्डो परेको देखे । खाल्डोमा स्लेटी रङको चट्टान थियो । जोशुआले उक्त चट्टानलाई छुँदा निकै तातो थियो ।

त्यसपछि ३३ वर्षीय जोशुआले २.१ किलो वजनको उक्त चट्टानी टुक्राबारे जानकारी बटुल्न थाले । उनले थाहा पाए, हजारौं किलोमिटर टाढा मेक्सिसकोमा पनि एउटा टुक्रा यसैगरी खसेको रहेछ । उक्त टुक्रा ब्रह्माण्डबाट खसेको छुद्र ग्रहको टुक्रा थियो । परीक्षणपश्चात त्यो टुक्रा ४.५ अर्ब वर्ष पूरानो रहेको र १० लाख पेसो (मेक्सिकन मुद्रा) मा बिकेको उनले थाहा पाए ।

आंगनमा खसेको चट्टानी टुक्राको महत्व बुझेपछि जोशुआले फेसबुकमा केही तस्बिर पोस्ट गरे । यसैक्रममा अमेरिकी क्षुद्र ग्रह विशेषज्ञ ज्यारेड कलिन्सले जोशुआसँग सम्पर्क गरिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो टुक्रा पनि ४.५ अर्ब वर्ष पुरानो भएको पुष्टि भएपछि कलिन्सले जोशआसँग उक्त टुक्रा १४ लाख पाउन्ड (करिब २२ करोड रुपैयाँ)मा किनिन् ।

जोशुआ अब आफूसँग जिन्दगीभरका लागि पर्याप्त रकम आइसकेको बताउँछन् । उनी अब आफ्नो समुदायको लागि एउटा चर्च बनाउने र बाँकी पैसाले आनन्दपूर्वक जीवन विताउने सोेचमा छन् । यो घटनाबारे कलिन्स भन्निछन्, ‘मलाई फोनबाट इन्डोनेशिया गएर एउटा छुद्र ग्रहको टुक्रा किन्नका लागि कैयन प्रस्ताव आइरहेका थिए । मसँग यो आफ्ना लागि वा अमेरिकी वैज्ञानिक र संंग्रहकर्ताका लागि किन्ने दुई विकल्प थिए ।’

पैसा जम्मा गरेर कलिन्स इन्डोनेसिया गइन र जोशुआलाई भेटिन् । कलिन्स भन्छिन्, ‘जोेशुआले निकै मोलभाउ गरे ।’ इन्डोेनेसियाबाट फर्केपछि कलिन्सले उक्त क्षुद्र ग्रहको टुक्रा एक अमेरिकी संग्रहकर्तालाई बेचिदिइन् । अहिले उक्त टुक्रालाई एरिजोना स्टेट विश्वविद्यालयको मेटेराइट स्टडिज सेन्टरमा राखिएको छ ।

सामान्यतया अन्तरिक्षबाट प्रत्येक दिन ठूलो संख्यामा उल्का पिण्ड पृथ्वीतर्फ आउँछन् । धेरैजसो साना पिन्ड पृथ्वीको वायुमण्डलमा आइपुग्ने बेला तिब्र घर्षणका कारण उत्पन्न हुने तापले भस्म हुन्छन् । केही भने पृथ्वीसम्म आइपुग्छन् । यस्ता पिण्डका टुक्रा ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्नेहरुलाई उपयोगी हुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०६:५०