सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाका अस्थायी कोभिड अस्पतालमा चिकित्सक अभाव

जुम्ला । जुम्लाका सात स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएको छ । सङ्घीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ ।

तत्काल तीन महिनाका लागि बजेट व्यवस्थापनसहित यहाँका स्थानीय तहमा सङ्घीय सरकारले रु १० लाखका दरले बजेट पनि पठाएको छ । जिल्लाका सात स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गर्न बजेट पठाइए पनि सातै स्थानीय तहले एक चिकित्सक पनि पदपूर्ति गर्न नसकेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।

सरकारले कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा एकएक ल्याब टेक्निसियन र कार्यालय सहयोगी राख्न बजेटसहितको व्यवस्थापन गरेको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताए । त्यहाँका स्थानीय तहले १५ दिनको समयावधिमा दुई पटकसम्म विज्ञापन आह्वान गरेकाम एक चिकित्सकले पनि विज्ञापनमा दरखास्त नदिएको गुठीचौर गाउँपालिका स्वास्थ्य संयोजक बालकराम नेपालीले बताए ।

सरकारी तलब स्केलमा बजेट पठाइए पनि मेडिकल अधिकृतले न्यूनतम रु एक लाख माग्ने भएकाले कसैको दरखास्त नपरेको हुन सक्ने जनाइएको छ । चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले सो नगरपालिकामा मेडिकल अधिकृत छन् । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भने, ‘पत्रिकामार्फत विज्ञापन पनि गरायौँ । व्यक्तिगत रुपमा खोजी भए पनि मेडिकल अधिकृत पाउन सकिएन ।’

गाउँपालिकाले थप बजेट व्यवस्थापन गर्ने भनिए पनि चिकित्सक पाउन नसकिएको अध्यक्ष रावलले बताए । स्टाफ नर्स र अन्य कर्मचारीका हकमा ठूलो सङ्ख्यामा आवेदन परी परीक्षा लिई उत्तीण हुनेलाई भर्ना गरिसकिए पनि मेडिकल अधिकृत अहिलेसम्म पाउन नसकिएको त्यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । सङ्घीय सरकारले पहिलो पटक तीन महिनाका लागि रु १० लाख पठाएको छ । रु चार लाख ५० हजार तलब र रु पाँच लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १४:३२