बाँके । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विहीबार विहान तुलसीपुर उपमहानगरपालिका–६ दाङका कोरोना संक्रमित ५६ वर्षका पुरुषको उपचारका क्रममा मृत्युभयो । विहीबार तुलसीपुर–६ कै ८१ वर्षका पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्युभयो । विहीबार नै अछाम तुर्माखाद–३ का २५ वर्षीय युवकको मेडिकल कलेज कोहलपुरमै मृत्यु भयो ।
एकैदिन तीनजनकोे मृत्यु भएसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका कोरोना संक्रमितको मृत्यु संख्या ४४ पुगेको छ । तीमध्ये १० महिला र ३४ पुरुष छन् । बाँकेमै मृत्यु भएकाहरुको संख्या भने अहिलेसम्म ३७ मात्र छ । त्यसमा १४ महिला र २३ पुरुष रहेका छन् । बाँकेमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ८१ जनाले ज्यान गुमाएका छन् ।
तीमध्ये धेरै जिल्ला बाहिरका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठ जिल्ला बाहिरबाट आउने विरामीहरु यहाँका अस्पतालहरुसँग समन्वयविना ल्याउँदा पनि समस्या भएको बताउँछन् । अहिलेसम्म सबैभन्दा धेरै दाङका १८ जना, बर्दियाका ८, कैलाली र कञ्चनपुरका ४–४ जनाको मृत्यु भएको छ ।
त्यस्तै सुर्खेतका ३, दैलेख र अछामका २–२ जना, दैलेख, रोल्पा र अर्घाखाँचीका १–१ जनाको उपचारका क्रममा बाँकेका विभिन्न अस्पतालमा मृत्यु भएको छ । तीमध्ये २६ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा, १७ जनाको भेरी अस्पताल नेपालगन्जमा र १ जनाको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा.दिनेश श्रेष्ठ भन्छन्, ‘हामीसँग स्रोतसाधनको कमी छ । १५ वटा आईसीयू वेड रहेको अस्पतालमा सबै बेड अहिले संक्रमितले भरिभराउ छन् । अस्पतालसँग दुईवटा मात्र भेन्टिलेटर छ । गम्भीर संक्रमित आए उपचारै गर्न गाह्रो छ । टाढाबाट सिरियस विरामी ल्याउँदा त्यसै पनि जोखिम हुन्छ ।’ दाङ, सुर्खेत र धनगढी लगायतका विरामी आउने क्रम रोकिएको छैन ।
धेरैजसो संक्रमितहरु दाङ र सुर्खेतबाट रिफर भएर आउने गरेका छन् । दाङ र सुर्खेतमा कोरोना विशेष अस्पताल नै सरकारले सञ्चालन गरेको भए पनि छ, किन त्यही उपचार नगरेर विरामी रिफर गरेको हो ? राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.सर्वेश शर्मा भन्छन्, ‘हामीले विरामी रिफर गरेका होइनौं, उनीहरु स्वयम् आफै जान्छन् । केही केसहरु मात्रै हामीले रिफर गरेका छौं । विरामी आफैले नेपालगन्ज जान्छु भनेपछि हामीले रोक्न मिल्दैन ।’
उपचार कहाँ गर्ने विरामीको अधिकार भएको उनको भनाइ छ । बेलझुण्डी अस्पतालमा पाँच वटा आइसीयू र तीन वटा भेन्टिलेटर छन् । ती अधिकांश भरिभराउ छन् । ‘सकेसम्म हामीले विरामीहरुलाई रोगको प्रकृति अनुसार यही उपचार गरिरहेकै छौं कोरोना विशेष अस्पतालको कमाण्ड सम्हाल्दै आएका डा.शर्माले भने, ‘सुविधा सम्पन्न अस्पतालमा उपचार लिन जान्छु भन्दा रोक्ने अवस्था हुँदैन ।’
बेलझुन्डीमा प्लाज्मा थेरापीबाहेक संक्रमितको उपचारका लागि अन्य सबै प्रकारको सेवा दिने गरिएको उनको भनाइ छ । विगतदेखि नै दाङका विरामी उपचारका लागि नेपालगन्जको भर पर्ने गर्छन् । कोरोना संक्रमणका विरामीमात्र होइन, अन्य रोगका विरामी पनि नेपालगन्ज अथवा कोहलपुरमै आउने गरेका छन् । भूगोलका हिसावले पनि त्यसको असर परेको मेडिकल सुपरिटेण्डेन्ट डा शर्माको बुझाइ छ ।
देउखुरी क्षेत्रका मानिसहरु तुलसीपुर र घोराहीभन्दा कोहलपुर–नेपालगन्ज पायक पर्छ । ‘ देउखुरी क्षेत्र बाँकेसँग नजिक भएको र ठूला अस्पताल नेपालगन्ज, कोहलपुरमै रहेका छन् र सेवा प्रवाह बलियो पनि त्यहीको छ भन्ने मानसिकताले पनि विरामीलाई काम गरेको भएर संक्रमित विरामी नेपालगन्जमै जाँदा बाहिरी जिल्लाको मृत्युदर बढेको हो,’ मेडिकल सुपरिटेण्डेन्ट डा शर्माको थप भनाइ छ ।
डा.श्रेष्ठ सरकारले निश्चित समयअवधिका लागि भए पनि स्रोतसाधन उपलब्ध गराउन सके मेडिकल कलेज कोहलपुरबाटै थप विरामीको उपचार दिन सकिने बताउँछन् । ‘हामीसँग जनशक्ति छ, सरकारले आइसीयू वेड र भेन्टिलेटर थप्दियोस् ।’ उनले बाहिरी जिल्लाबाट आउने विरामीलाई समन्वय गरेर मात्र आउन र पठाउन आग्रह गरेका छन् । त्यसो गर्दा अस्पतालले तयारी समयमै गर्ने र विरामीले सहि समयमा उपचार पाउने बताए । (स्वास्थ्य पेजबाट)
सत्यपाटी ।