सूचनाको शक्ति - The Power Of Information

        

अपराध

जहाँ आमाको काखबाट बच्चाहरु चोरेर बेचिन्छन्…

केन्यामा बच्चाहरु बिक्री गर्ने कालो बजारलाई निरन्तर आपूर्तिकै लागि अन्धाधुन्ध रुपमा बच्चा चोरी भइरहेको छ । अफ्रिका आई टिमले एक वर्षसम्म एक तस्करलाई पछ्याएर यो रिपोर्ट तयार गरेको हो । केही बच्चाहरु मात्रै ३० हजार रुपैयाँमा बेच्न चोरी भइरहेका छन् । अफ्रिका आईका लागि पिटर मुरुमी, जोएल गुन्टर र टम वाटसनको रिपोर्ट :

लरेन्स जहाँ भए पनि अहिले ऊ १० वर्षको भएको होला । ऊ, रिबेका बस्ने ठाउँ नैरोबीमा पनि हुन सक्छ वा केन्याको कुनै कुनामा पनि हुन सक्छ । वा अहिलेसम्म ऊ मरिसकेको पनि हुन सक्छ । रिबेकालाई पनि त्यस्तै लाग्छ । लरेन्स जोसिया रिबेकाको पहिलो सन्तान थियो । रिबेकाले उसलाई अन्तिमपटक देख्दा उनी ९ वर्षका थिए । २०११ मार्चको त्यो रात, घडीले करिब २ बजेको संकेत गरिरहेको होला ।

रिबेका सजिलोसँग उपलब्ध हुने सस्तो लागुऔषध (जेटफ्युल) सुँघेर लट्ठ थिइन् । उनी लागुऔषध सेवन गर्थिन्, किनभने नशाले उसलाई भीख माग्ने आत्मविश्वास दिन्थ्यो । रिबेका १५ वर्षकी हुँदा उनकी आमासँग रिबेकालाई पेटभरि खुवाउन पर्याप्त पैसा थिएन । जसका कारण विद्यालयको पढाइ छोडेर रिबेका सडकमा पुगिन् । सडकमा पुगेकी रिबेकाको एक वृद्ध पुरुषसँग संगत भयो ।

ती पुरुषले रिबेकालाई विवाह गर्ने झुटो आश्वासन दिएर गर्भवती बनाएर छोडेर गयो । त्यसको अर्को वर्ष अर्थात् २०१२ मा रिबेकाले लरेन्स जोसियालाई जन्म दिइन् । रिबेकाले छोरा लरेन्सलाई केही वर्ष हुर्काइन् । त्यो रात रिबेकाले आफ्नो आँखा बन्द गरेसँगै पहिलो छोरालाई कहिल्यै देख्न पाइनन् । पहिलो सन्तान हराएको दुःखमा उनी भन्छिन्, ‘मेरो अरु बच्चाहरु पनि छन्, तर ऊ मेरो पहिलो सन्तान थियो, उसैले मलाई आमा बनायो ।’

रिबेका अहिले पनि नैरोबीको त्यही सडकमा बस्छिन्, जहाँबाट उसको बच्चा चोरी भएको थियो । ‘मैले उसलाई जताततै खोजेँ तर कतै फेला परेन,’ उनले भनिन् । अहिले रिबेकाका ८, ६ र ४ वर्षका तीन छोरी छन् । जसमध्ये कान्छी छोरी पनि एकपटक चोरी हुन लागेकी थिइन् । एक अपरिचित पुरुषले कान्छी छोरीलाई कारमा राखेर लैजाँदै गर्दा रिबेकाले देखिन् र छोरीलाई फिर्ता ल्याइन् ।

यस्तै कथाहरु भएको ठाउँ

रिबेका जहाँ बस्छिन् त्यो ठाँउमा यस्तो कथा छ्याप्छ्याप्ती भेटिन्छन् । एस्तरको तीन वर्षका छोरा २०१८ को अगस्तमा हराएको थियो । उनी भन्छिन्, ‘मेरो छोरा हराएदेखि मेरो मन व्याकुल भएको छ, म उसलाई खोज्न मोम्बासासम्म पनि गइसकेको छु ।’ दुई वर्षअघि क्यारोलको दुई वर्षका छोरा रातिको अन्धकारमा खोसेर लग्यो । उनी भन्छिन्, ‘म उसलाई असाध्यै माया गर्छु । यदि उसले मेरो छोरा फिर्ता गर्छ भने म त्यो व्यक्तिलाई क्षमा गरिदिन्छु ।’

बच्चाहरुको आपूर्तिका लागि सडकका महिलाहरुको सिकार

नैरोबीमा बच्चाहरुको बिक्रीको कालो बजार ठूलो मात्रामा चलिरहेको छ । कालो बजारीमा बच्चाहरुका आपूर्तिका लागि यस्ता महिलाहरुलाई सिकार बनाइन्छ । यो एक वर्ष लामो अनुसन्धानबाट सडकमा भएका क्लिनिकहरुमा बच्चा चोरी र ठूलो अस्पतालमा बच्चा बिक्री हुने सत्यताको पनि पर्दाफास भयो । सरकारी ओहदामा भएकाहरुको कुकर्मको पर्दाफास गर्न अफ्रिका आई समूहले अस्पतालमा छोडिएका बच्चाहरु टिम आफैंले किन्ने प्रयास गरेको थियो ।

बच्चा चोरीमा अवसरवादीदेखि संगठित अपराधीसम्म समावेश छन् । धेरैजसो केसहरुमा उनीहरु मिलेर काम गरिरहेका हुन्छन् । अवसरवादीहरुमा अनीताजस्ता महिलाहरु पर्छन् । अनीता रक्सी र लागुऔषधको लतमा परेकी सडकमा बस्ने महिला हुन् । उनी रिबेकाजस्ता सडकमै बस्ने महिलाहरुका बच्चाहरु चोरेर पैसा कमाउने गर्छिन् । अनीता प्रायः ३ वर्षभन्दा कम उमेरका निर्दोष बच्चाहरुलाई निशाना बनाउँछिन् ।

एम्मा नामकी अनीताका साथीका अनुसार उनले बच्चा चोर्न अलगअलग उपायहरुको प्रयोग गर्छिन् । कहिले अनीता ती बच्चाहरुका आमासँग मित्रताको हात अघि बढाउँछिन् । कहिले बच्चाको आमाहरुलाई नशा वा निद्राको औषधि दिएर बच्चा चोरेर लग्छिन् । यस्तै कहिले भने बच्चाहरुसँग खेलेको जस्तो गरेर नजिक जान्छिन् र मौका छोपेर चोरेर लग्छिन् रे । अफ्रिका आईले ग्राहक बनेर अनीतासँग सम्पर्क गर्दा उसले धेरै कुराको खुलासा गरिन् ।

उनी भन्छिन्, ‘केही ग्राहक बाँझो महिलाहरु हुन्छन्, उनीहरु यी बच्चाहरु गोद लिएझै किन्छन् । तर केही बच्चाहरु भने बलि दिनका लागि किन्ने गरिन्छ । यी बच्चाहरु एकाएक सडकबाट गायब हुन्छन् र फेरि कहिले देखा पर्दैनन् ।’ अनीता कारोबारी महिलाहरुलाई केटी बच्चा बेच्दा ५० हजार सिलिङ र पुरुष बच्चा ८० हजार सिलिङसम्म बेच्छिन् । यो लगभग ३० देखि ५० हजारबराबर हो । नैरोबीमा सडकबाट बच्चा चोर्ने दर लगभग यति नै हो ।

जिम्मेवार एजेन्सीहरुको कमजोरी

केन्यामा कति बच्चाहरु तस्करी हुन्छन् यसबारे कुनै भरपर्दो डाटा, कुनै सरकारी रिपोर्ट वा कुनै राष्ट्रव्यापी सर्वे छैन । जिम्मेवार एजेन्सीहरुसँग यो तस्करीलाई रोक्न कोष र कर्मचारी दुवैको कमी छ । मारयाना मुनयेंडो विगत चार वर्षदेखि ‘मिसिङ चाइल्ड केन्या’ नामक गैरसरकारी संस्था सञ्चालन गरिरहेकी छिन् ।

यस संस्थाअन्तर्गत उनी चोरी भएका बच्चाहरुका आमाहरुका लागि काम गर्छिन् । उनका अनुसार यो चार वर्षमा ६०० भन्दा बढी यस्ता चोरीको केस आएको छ । अझै यस्ता कति घटनाहरु त अगाडि नै आउँदैन । यसको कारण पीडितहरुको कमजोर आर्थिक स्थिति र कतिलाई कहाँ गएर आफ्नो समस्या पोख्ने भन्ने जानकारी नभएर हो ।

बच्चा तस्करीको प्रमुख कारण

केन्यामा बच्चाहरुको कालो बजारी हुनुको कारणमध्येको एक प्रमुख कारण आमा बन्न नसक्ने महिलालाई लगाइने लान्छना पनि हो । संस्था संस्थापक मुनयेंडो भन्छिन्, ‘अफ्रिकी देशमा बाँझपन हुनु महिलाहरुका लागि अत्यन्तै नराम्रो मानिन्छ । महिलाहरुबाट छोरी नै जन्माओस् भनेर आशा गरिन्छ । यदि महिलाले यसो गर्न सकिनन् भने उसलाई घरबाट निकालिन्छ । त्यसैले बाध्यतामा बच्चा चोरी गर्नुपर्ने हुन्छ ।’

यस्तोमा ती आमा बन्न नसकेका महिलाहरु कि त अनीताजस्ता अवसरवाद बच्चा चोरी गर्ने दलालको सम्पर्कमा आउँछन् । कि त ठूलाठूला अस्पतालमा सीधैं सम्पर्क गर्छन् कि त गरिब बस्तीहरुमा भएका क्लिनिकहरुमा पुग्छन् जहाँ आमा स्वयंको सहमतिमा बच्चा बेच्ने र किन्ने कालो बजारी हुन्छ ।

गरिब बस्तीका क्लिनिक

बच्चा तस्करीमा सक्रिय संलग्नमा पर्ने गरिब बस्तीहरुमा खोलिएका अवैध क्लिनिकहरुमा गर्भवती महिलाहरुको डेलिभरीको काम हुन्छ । यहाँ आमाहरुको सहमतिमा नै धेरैजसो बच्चाहरु बेच्ने गरिन्छ । रिबेकाजस्ता विवाहअगावै गर्भवती भएर केटाले बिहे नगरी छोडेर गएका आमाहरु विवश भएर सन्तान जन्माउनेबित्तिकै बेच्न तयार हुन्छन् ।

आफू बस्नसमेत ठाउँ हुँदैन बच्चा जन्माएर हुर्काउने त टाढाका कुरा हुन्छ ती महिलाहरुका लागि । यस्तोमा उनीहरुले सन्तान बेच्ने निर्णय लिन्छन् । टिमले ती पीडित आमाहरुका लागि प्रहरीदेखि धेरै ठाँउबाट पहल गर्यो तर यो समस्या आज पनि जिऊँका त्युँ नै छ । (बीबीसी हिन्दीको सम्पादित अंश)

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ११:५३