सूचनाको शक्ति - The Power Of Information

        

‘खोजी आवाजको’ प्रतिश्पर्धामा पवित्रा र धिरेन्द्र विजयी

बाँके । लोक तथा दोहोरी गीत गाउने क्षमता भए पनि अवसरबाट बञ्चित भएकाहरुका लागि आयोजित ‘खोजी आवाजको’ प्रतिश्पर्धामा अछामकी पवित्रा खड्का र सुर्खेतका धिरेन्द्र सलामी मगर विजयी भएका छन् । रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुद्वारा आयोजित ‘खोजी आवाजको’ प्रतिश्पर्धामा उनीहरु विजयी भएका हुन् ।

लोक तथा दोहोरी गीत गाउने क्षमता भएकालाई अवसर सिर्जना गर्ने उद्देश्यले रेडियो काठमाण्डु र डिएआर मुभिजको सहकार्यमा ‘खोजि आवाजको’ सञ्चालन गरिएको प्रतिश्पर्धामा देशभरका एक सयभन्दा बढि रेडियो एफएमहरूबाट एकैसाथ प्रशारण हुने कार्यक्रम इन्द्रेणीमार्फत देशभरका लोकगीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

बिजेतालाई एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले एक महिनाभित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने कार्यक्रम इन्द्रेणीका सञ्चालक एवं रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणी गौतमले जानकारी दिए ।

रेडियो अडिसनमा सिता मगर भोजपुर, धनराम परियार र महेश दवाडी काठमाडौं, उपेश परियार दाङ, छिना गुरूङ भोजपुर, कैलास कैनी डडेल्धुरा, थामी मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मी र पृथ्वीराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए ।

यस्तै पूर्णकुमार तिवारी काठमाडौं, पवित्रा आले मगर काठमाडौं, नविन बोहरा डोटी, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट रेडियो अडिसनमा सहभागी भएका थिए । पहिलो, दोस्रो र तेस्रो अडिसनबाट क्रमशः धनराम परियार, सिता मगर, कैलास कैनी, पवित्रा खड्का, धिरेन्द्र सलामी मगर र पूर्णकुमार तिवारी छनौट भएका थिए ।

पहिलो, दोस्रो र तेस्रो अडिसनबाट छनौटमा परेका ६ जनालाई उछिन्दै ‘खोजी आवाजको’ प्रतिश्पर्धामा सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्कालाई आयोजकले विजयी घोषणा गरेको थियो । देशभरका एक सयभन्दा बढि रेडियो एफएमहरूबाट एकसाथ प्रशारणा हुने कार्यक्रम इन्द्रेणीको संयोजनमा भएको ‘खोजी आवाजको’ प्रतिश्पर्धामा घमेश दुलाल र प्रभावन जे निर्णायक रहेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १७:२१