सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

रातारात अर्बपति बने कोरोना भ्याक्सिनको विकास गर्ने दम्पती

काठमाडौं । उगुर साहित र ओलजेम ट्युरेसी, टर्किश जर्मन दम्पती, जसले विश्वलाई कोरोना भाइरसबाट मुक्ति पाउने दिशामा नयाँ आशाको किरण छरेका छन् । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले संयुक्तरुपमा विकास गरिरहेको कोरोना भाइरस भ्याक्सिनको पछाडि यही दम्पतीको निरन्तरको अनुसन्धान र शोध छ ।

यी वैज्ञानिक दम्पतीले आफूहरुले विकास गरेको भ्याक्सिनले कोरोना भाइरस महामारीको अन्त्य गर्ने विश्वास व्यक्त गरेका थिए । जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले अघिल्लो सोमबार पत्रकार सम्मेलन गरेर आफूहरुले संयुक्त रुपमा विकास गरेको भ्याक्सिनले फेज ३ क्लिनिकल ट्रायलमा ९० प्रतिशतसम्म प्रभावकारी नतिजा दिएको घोषणा गरेका थिए ।

उगुरले द गार्डियनलाई आफू भ्याक्सिनको सफलताबारे आशावादी रहेको बताएका थिए । उगुर बायोएनटेकका प्रमुख कार्यकारी हुन् । ‘यो भ्याक्सिनबाट महामारी रोक्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्न हो भने मेरो उत्तर हो, सक्छौं,’ उगुरले कुराकानीका क्रममा भने ‘किनकि लक्षण देखिने संक्रमणबाट मात्रै सुरक्षाले पनि नाटकीयरुपमा प्रभाव पार्न सक्छ ।’

बायोएनटेक कम्पनी यो दम्पतीले अष्ट्रियाली अंकोलोजिस्ट (क्यान्सर विशेषज्ञ) क्रिस्टोफ हुबरसँग मिलेर २००८ मा स्थापना गरेका हुन् र यही कम्पनीले यो भ्याक्सिन विकास गरेको हो । यो जोडीले एक विश्वविद्यालयको अस्पतालमा कार्यरत रहँदा भेटेका हुन् । उनीहरुले २००२ मा विवाह गरेका हुन् । यी दुवै टर्कीका आप्रवासीका सन्तान हुन् जो १९६० को दशकमा जर्मनी गएका थिए ।

सोमबार भ्याक्सिनको सफलताको घोषणा भएसँगै यो खबरले बायोएनटेकको शेयरमा १४ प्रतिशत उछाल आयो । यसले बायोएनटेकका ठूला लगानीकर्ताहरुलाई एक झट्कामै अर्बपति बनायो । शेयर बजारमा आएको उछालले उगुरको ५०० मिलियन डलर नेटवर्थ एक्कासी बढेर ४.४ बिलियन डलर पुग्यो । उनी जर्मनीका सबैभन्दा धनी १०० व्यक्तिहरुमध्येका एक हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १४:१७